चितवन : स्वदेशमा अवसर नभएको भन्दै युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक किसानले भने आफ्नै माटोमा मेहनत गरेर आर्थिक समृद्धिको उदाहरण प्रस्तुत गरेका छन् । खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा संकायमा स्नातक (बीएड) उत्तीर्ण गरेपछि करिब ६ वर्ष शिक्षण पेसा गरे पनि त्यसलाई छाडेर व्यावसायिक रूपमा पिरो खुर्सानीखेतीमा लागेका हुन् । हाल उनी पिरो खुर्सानीखेतीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
विसं २०५६ सालदेखि आंशिक रूपमा तरकारीखेती गर्दै आएका श्रेष्ठले २०७२ सालदेखि पिरो खुर्सानीलाई मुख्य व्यवसाय बनाएका हुन् । अहिले उनले झन्डै २५ कट्ठा जग्गामा बुलेट र लामो जातका खुर्सानी उत्पादन गर्दै आएका छन् । श्रेष्ठका अनुसार उनका उत्पादन चितवनको नारायणगढ, टाँडी, पर्सा हुँदै राजधानी काठमाडौंसम्म पुग्ने गरेका छन् । भारतीय खुर्सानीको बजारमा प्रतिस्पर्धा भए पनि स्थानीय उत्पादन गुणस्तरीय भएकाले राम्रो मूल्य पाउने गरेको उनले बताए ।
गत वर्ष मात्र उनले करिब २५ कट्ठा क्षेत्रफलबाट २३ लाख रुपैयाँ बराबरको खुर्सानी बिक्री गरेका थिए । सबै खर्च कटाएर उनले झन्डै १२ लाख रुपैयाँ खुद नाफा कमाएको उनले जानकारी दिए । खुर्सानीखेतीबाट मात्रै होइन, उनले स्थानीयस्तरमा रोजगारी समेत सिर्जना गरेका छन् । उनको कृषि फार्ममा दैनिक १० देखि १२ जना स्थानीयले नियमित रोजगारी पाएका छन् भने वार्षिक १० लाख रुपैयाँभन्दा बढी ज्यालामा खर्च हुने गरेको छ ।
कृषि पेशासँगै उनले नवीन एग्रो सेन्टर र राइस एण्ड तोरी मिल समेत सञ्चालन गर्दै किसानलाई मल, बीउ तथा प्राविधिक परामर्श दिँदै आएका छन् । आफ्नै माटोमा मेहनत गरे सफलता सम्भव छ भन्ने उदाहरण बनेका श्रेष्ठ अहिले जिल्लाकै सफल कृषकका रूपमा परिचित छन् । स्वदेशमै अवसर खोजे विदेश जानु नपर्ने सन्देश उनले दिएको स्थानीयहरूले बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij