काठमाडौँ : सरकारले कालिकोटको सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन नसकेको बताएको छ । राष्ट्रियसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले विमानस्थलको प्राविधिक पक्षमा कुनै समस्या नरहेको तर ‘लोड फ्याक्टर’ (यात्रु सङ्ख्या) को अभावले नियमित उडान हुन नसकेको बताएका हुन् ।
राष्ट्रियसभामा यससम्बन्धी प्रश्न सांसद विष्णुबहादुर विश्वकर्माले सोधेका थिए । त्यो प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले विमानस्थल उडानका लागि तयार भए पनि यात्रु नभेटिँदा उडान हुन नसकेको बताए । विमानस्थलमा २०७३ र २०८० मा दुई पटक सफल परीक्षण उडान भइसकेको र नेपाल वायुसेवा निगमले हप्ताको दुई दिन (मङ्गलवार र शनिबार) उडानको अनुमति लिएको जानकारी मन्त्री पौडेलले दिए । निजी एयरलाइन्सहरूसँग छलफल भए पनि यात्रुको सुनिश्चितता नभएकाले उनीहरू उडान भर्न इच्छुक नदेखिएका पौडेको भनाइ छ ।
यात्रुको सुनिश्चितता भएमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति र सञ्चार उपकरण तुरुन्तै पठाउन प्रतिबद्ध रहेको उनले बताए । पौडेलले पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा बसाइँसराइ र सडकको सहज पहुँचका कारण यात्रु सङ्ख्या घट्दै जानु साझा चुनौती रहेको पनि बताए । नेपालमा कुल ५५ वटा विमानस्थलमध्ये ३४ वटा मात्रै सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्रीले स्थानीय तहसँग समन्वय गरेर सुनथरालीमा नियमित सेवा सुरु गर्ने प्रयास भइरहेको बताए ।
सांसद विष्णुबहादुर विश्वकर्माले २०४२ सालदेखि निर्माण सुरु भएको यो विमानस्थल २०८० फागुन १४ गते औपचारिक उद्घाटन भए पनि हालसम्म किन नियमित उडान हुन नसकेको भनी प्रश्न गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij