Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आज संसद बैठक बस्दै

आज संसद बैठक बस्दै

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आज बस्दैछ।संसद् सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। तेस्रो पटक स्थगित बैठक आज बस्ने छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। मन्त्री तथा रास्वपा सांसदहरू महाधिवेशनमै व्यस्त भएपछि संसदका महत्वपूर्ण विधेयक र बजेटसम्बन्धी कार्यसूची प्रभावित बनेका छन्।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो।  सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका थिए। 

आजको बैठकका लागि संसद् सचिवालयले सम्भावित विभिन्न १२ वटा कार्यसूची तय गरेको छ।

बैठकको सुरुमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ।

त्यसैगरी, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले "महालेखा परीक्षकको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३" पेस गर्नेछन्। 

आजको बैठकमा सरकारका तर्फबाट विभिन्न महत्त्वपूर्ण संसोधन विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ, जसमध्ये: सार्वजनिक खरिद र सहकारी विधेयक: प्रधानमन्त्रीको तर्फबाट मन्त्री महावीर पुनले "सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३" र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले "सहकारी (पहिलो संशोधन) विधेयक, २०८३" प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नेछन्।

सम्पत्ति शुद्धीकरण र स्वास्थ्य विधेयक: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३" र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले "स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३" सदनमा प्रस्तुत गर्नेछन्। 

आजको बैठकमा "आर्थिक विधेयक, २०८३" माथि प्राप्त संशोधनहरूसहित छलफल हुने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। छलफल पश्चात् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

यसैगरी, "राष्ट्र ऋण उठाउने विधेयक, २०८३" माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव पेस भई प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ र सो विधेयकलाई समेत आजै पारित गर्ने कार्यसूची रहेको छ।

बैठकको अन्त्यमा प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्।  यस अघि असार ५ गते बैठक बसेको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट