चितवन : आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले चितवन जिल्लाको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै ठूलो बजेट विनियोजन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चितवनका लागि कुल १ अर्ब १८ करोड ५७ लाख रुपैयाँ बराबरको बजेट छुट्याएको हो।
मन्त्रालयका अनुसार जिल्लागत रूपमा पर्यटन क्षेत्रमा विनियोजित बजेटमध्ये चितवन सबैभन्दा अग्रस्थानमा रहेको छ। धार्मिक, साहसिक र प्रकृति पर्यटनको संगमस्थलका रूपमा चितवनलाई विकास गर्ने उद्देश्यसहित विभिन्न ठूला तथा साना परियोजनाहरू समावेश गरिएको छ। बजेटको मुख्य हिस्सा भरतपुर विमानस्थल विस्तारमा केन्द्रित गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विमानस्थल विस्तारका लागि ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने जग्गा अधिग्रहणको सोधभर्नाका लागि नेपाली सेनालाई २५ करोड रुपैयाँ छुट्याइएको छ।
यससँगै विमानस्थल विस्तारका लागि कुल १ अर्ब रुपैयाँ लगानी हुने भएको छ, जसलाई सेयर तथा ऋण लगानी मोडलमा खर्च गरिने मन्त्रालयले जनाएको छ। त्यस्तै, चितवनमा थप १८ करोड रुपैयाँ बराबरका पर्यटन विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। तीमध्ये माडीको अयोध्याधाम बृहत्तर धार्मिक परियोजनाका लागि ७ करोड, देवघाट–त्रिवेणीधामस्थित राममन्दिर विकासका लागि ५ करोड, पुतली बगैँचा (ब्युटी गार्डेन) निर्माणका लागि ३ करोड तथा साइकल ट्रेल विकासका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यसैगरी त्रिपुरासुन्दरी भगवती मन्दिर निर्माणका लागि ४० लाख रुपैयाँ र साइकल ट्रेल तथा जङ्गल सफारी सम्भाव्यता अध्ययनका लागि १६ लाख रुपैयाँ छुट्याइएको छ। मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रमअनुसार चितवनमा ऐतिहासिक सम्पदाको संरक्षण, नयाँ पर्यटकीय गन्तव्यको विकास तथा पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको छ। बजेट संरचनाका हिसाबले चितवनलाई उच्च प्राथमिकतामा राखिएको देखिए पनि कार्यान्वयन र प्रभावकारिताका विषयमा सरोकारवालाको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ।