चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा विवाद छताछुल्ल भएको छ। चितवनको भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा जारी महाधिवेशनमा उम्मेदवारहरूको असन्तुष्टि सार्वजनिक रूपमा देखिएको हो। महाधिवेशन अपेक्षाभन्दा फितलो भएको भन्दै केही प्रतिनिधिहरू मतदानमा सहभागी नभई फर्किएको आरोपसमेत उठेको छ। असार ७ गतेदेखि ९ गतेसम्म सक्ने गरी तय गरिएको महाधिवेशन ढिला हुँदै गए पनि केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया अझै पूरा हुन सकेको छैन।

यसैबीच, मतदान चलिरहेकै समयमा उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। विशेषगरी नामावलीको क्रम र सूची व्यवस्थापनप्रति उनीहरूले आपत्ति जनाएका छन्। केन्द्रीय सदस्य उम्मेदवार गणेश कार्कीले प्रारम्भिक सूची र मतदान सूचीबीच नाम क्रम फरक परेको भन्दै प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै, “खुला तर्फको १३३ नम्बरमा मेरो नाम छ, तर प्रारम्भिक सूचीअनुसार मभन्दा पछि दर्ता भएकाहरू माथि कसरी पुगे?” भन्दै पारदर्शितामाथि प्रश्न गरेका छन्।

त्यस्तै, नेता यज्ञमणी न्यौपानेले पनि नाम क्रम मिलेनो भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले आफू र अरू उम्मेदवारको नाम अल्फाबेटिकल अर्डरसमेत अनुसार नराखिएको भन्दै प्रक्रिया प्रति आशंका व्यक्त गरेका छन्। यता, नेता राजीव खत्रीले मतदान प्रक्रियामै ‘नो भोट’को व्यवस्था प्रभावकारी नभएको भन्दै आलोचना गरेका छन्। उनले अनिवार्य रूपमा प्रतिद्वन्द्वीलाई भोट दिनुपर्ने प्रणालीप्रति प्रश्न उठाएका छन्।

त्यस्तै, आशिका तामाङले पनि आफ्नो नामावली क्रम परिवर्तन गरिएको भन्दै सामाजिक सञ्जालमा आपत्ति जनाएकी छन्। महाधिवेशनमा पार्टी सभापतिमा संस्थापक सभापति रवि लामिछाने निर्विरोध चयन भइसके पनि अन्य पदाधिकारीका लागि निर्वाचन प्रक्रिया जारी छ। निर्वाचनमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ भने कुल ३ हजार ८४९ प्रतिनिधि सहभागी छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij