चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अपेक्षाभन्दा लामो समयसम्म लम्बिँदा प्रतिनिधिहरू महाधिवेशन स्थलबाट घर फर्किन थालेका छन्। केन्द्रीय सदस्य पदको मतदान प्रक्रिया जारी रहेकै अवस्थामा ठूलो संख्यामा प्रतिनिधिहरू चितवन छाड्न थालेपछि आगामी पदाधिकारी निर्वाचन प्रभावित हुन सक्ने चर्चा पार्टीभित्र सुरु भएको छ।
महाधिवेशनको चौथो दिनसम्म पनि निर्वाचन प्रक्रिया सम्पन्न हुन नसक्दा प्रतिनिधिहरूमा थकान, अन्योल र असन्तुष्टि बढेको बताइएको छ। ९९ सदस्यीय केन्द्रीय समितिका लागि मतदान जारी रहेका बेला धेरै प्रतिनिधि व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक कारण देखाउँदै फर्किन थालेका हुन्। महाधिवेशनमा सहभागी एक उम्मेदवारका अनुसार प्रतिनिधिहरूको उल्लेख्य संख्या चितवनबाट बाहिरिन थालेको छ। उनले आधाभन्दा बढी प्रतिनिधि फर्किसकेको दाबी गरे पनि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानमा सहभागी प्रतिनिधिको आधिकारिक विवरण सार्वजनिक गरेको छैन। पार्टी स्रोतका अनुसार महाधिवेशनमा करिब ४ हजार १ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको थियो। तर निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा निकै पछाडि धकेलिँदा सहभागीहरूको उपस्थिति क्रमशः घट्दै गएको देखिएको छ।
रास्वपाको निर्वाचन कार्यतालिकाअनुसार सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्रै पदाधिकारी चयन प्रक्रिया अघि बढ्नेछ। तर केन्द्रीय सदस्यहरूको मतदान तथा मतगणना नै ढिलो हुने संकेत देखिएकाले पदाधिकारी निर्वाचन कहिले हुने भन्ने विषय अझै अनिश्चित बनेको छ। निर्वाचन आयोगले पदाधिकारी निर्वाचनको मिति र समय सार्वजनिक नगरेकाले प्रतिनिधिहरू कति समयसम्म चितवनमा बस्नुपर्ने भन्ने स्पष्टता नहुँदा अन्योल झन् बढेको छ। यही कारण कतिपय प्रतिनिधिहरू नतिजा कुर्नुभन्दा आफ्नो गन्तव्यतर्फ फर्किन थालेका छन्।
पार्टीभित्र उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत महत्वपूर्ण पदका लागि हुने निर्वाचनलाई महाधिवेशनको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। यस्ता पदमा हुने प्रतिस्पर्धामा प्रतिनिधिहरूको सक्रिय सहभागिता निर्णायक मानिन्छ। तर प्रतिनिधिहरूको उपस्थिति घट्दै जाँदा पदाधिकारी निर्वाचनको सहभागिता, प्रतिनिधित्व र वैधानिकतामाथि समेत प्रश्न उठ्न सक्ने विश्लेषण हुन थालेको छ।
यता केन्द्रीय निर्वाचन आयोगले भने केन्द्रीय सदस्य पदको मतदान प्रक्रिया सम्पन्न भएपछि मात्रै पदाधिकारी निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। महाधिवेशन व्यवस्थापन र निर्वाचन प्रक्रिया समयमै टुंग्याउन नसकेको भन्दै नेतृत्वमाथि दबाब बढिरहेका बेला प्रतिनिधिहरूको निरन्तर बहिर्गमनले महाधिवेशनको अन्तिम चरण थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij