बाजुरा : सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा यतिबेला वर्षायामसँगै हरियालीले ढाकिएको छ । उच्च हिमाली क्षेत्रका डाँडापाखा, विशाल पाटन, कुहिरोले छोपिएका हिमशिखर र बादलसँग लुकामारी खेल्ने मनोरम दृश्यले बाजुराको प्राकृतिक सौन्दर्यलाई झन् आकर्षक बनाएको छ।
वर्षा सुरु भएसँगै बडीमालिका, त्रिवेणी, २२ पाटनलगायतका हिमाली क्षेत्रहरू हरियालीले भरिएका छन्। हरियो घाँसले ढाकिएका विशाल फाँट, चरिरहेका भेडा, चौँरी र घोडाका बथान तथा कलकल बग्ने खोलानालाले यहाँको वातावरणलाई जीवन्त बनाएका छन्। बिहानको समयमा बादलको घुम्टो चिरेर देखिने हिमशिखर र सूर्योदयको सुनौलो किरणले हिमाललाई झन् मनमोहक बनाउने गरेको छ।
स्थानीयका अनुसार बाजुराको हिमाली भूभाग प्राकृतिक दृश्यका हिसाबले नेपालकै उत्कृष्ट गन्तव्यमध्ये एक हो। यहाँका पाटन र चरन क्षेत्र केवल सौन्दर्यका प्रतीक मात्र नभई स्थानीय समुदायको जीविकोपार्जनको आधार पनि हुन्। पशुपालनमा निर्भर समुदायका लागि यी क्षेत्रहरू महत्वपूर्ण स्रोतका रूपमा रहेका छन्।
प्राकृतिक सौन्दर्यसँगै बाजुरा जैविक विविधताका दृष्टिले पनि समृद्ध मानिन्छ। विभिन्न दुर्लभ जडीबुटी, वनस्पति, चराचुरुङ्गी र वन्यजन्तुले यहाँको पारिस्थितिक प्रणालीलाई विशेष बनाएका छन्। वर्षायाममा फैलिने वनस्पतिको हरियाली र जडीबुटीको सुगन्धले हिमाली वातावरणलाई थप आकर्षक बनाएको स्थानीयहरू बताउँछन्। बडीमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ। यहाँ पुग्ने पर्यटक र भक्तजनले एकैसाथ प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिको अनुभूति गर्ने गरेका छन्। कठिन हिमाली यात्रा पार गरेपछि देखिने मनोरम दृश्यले यात्राको सबै थकान बिर्साइदिने पर्यटकहरूको अनुभव छ।
स्थानीय गौरी तिमिल्सेनाले बाजुराको हिमाली क्षेत्रलाई ‘धर्तीको स्वर्ग’को संज्ञा दिँदै यहाँको प्रत्येक दृश्य आफैंमा एउटा कविता जस्तै रहेको बताइन्। उनका अनुसार हिमाल, बादल, कुहिरो र हरियालीको संगमले बाजुराको प्राकृतिक सौन्दर्यलाई अनुपम बनाएको छ। प्राकृतिक सम्पदा, धार्मिक महत्व र जैविक विविधताको संगम रहेको बाजुराको हिमाली भूभागले आन्तरिक तथा बाह्य पर्यटनको ठूलो सम्भावना बोकेको छ। वर्षायाममा झन् आकर्षक बन्ने यहाँका हिमाली क्षेत्रहरूले प्रकृतिप्रेमी तथा साहसिक यात्राका पारखीहरूलाई लोभ्याइरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij