चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि प्रतिनिधि सभा सदस्य प्रभा ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। पार्टी संगठन निर्माणदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएकी ढकालले नेतृत्व, पारदर्शिता र जवाफदेहितालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै उम्मेदवारी अघि सारेकी हुन्।
पार्टी स्थापनाकालदेखि नै सक्रिय रहँदै आएकी ढकालले रास्वपाको संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएको पार्टीभित्र चर्चा छ। उनले पार्टी सभापति रवि लामिछानेलाई निर्वाचनमा जिताउन सक्रिय भूमिका खेलेको र कठिन राजनीतिक परिस्थितिमा समेत अग्रपंक्तिमा रहेर पार्टीको पक्षमा दृढ रूपमा उभिएको बताइन्छ।लामिछानेमाथि परेका राजनीतिक तथा कानुनी चुनौतीका बेला पनि उनी निरन्तर आन्दोलन र राजनीतिक गतिविधिमा सक्रिय रहेको पार्टी स्रोतले जनाएको छ।
चितवन जिल्ला संस्थापक उपसभापतिका रूपमा जिम्मेवारी सम्हालिसकेकी ढकालले संगठन व्यवस्थापनमा कुशलता प्रदर्शन गरेको बताइन्छ। राजनीति प्रवेशअघि स्वास्थ्यकर्मी तथा समाजसेवीका रूपमा काम गरेकी उनी सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन् । उम्मेदवारी घोषणा गर्दै ढकालले नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताइन्।
“नयाँ सोच, नयाँ नेतृत्व, पारदर्शिता, जिम्मेवारी र परिणामका लागि मेरो उम्मेदवारी हो,” उनले भनिन्। उनले सशक्त संगठन निर्माण, सक्षम नेतृत्व विकास र समृद्ध नेपालको लक्ष्य पूरा गर्न आफ्नो भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्। महाधिवेशनको सन्दर्भमा बागमती प्रदेशबाट उनको उम्मेदवारीलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक गतिविधिका रूपमा हेरिएको छ। समर्थकहरूले ढकालको अनुभव, संगठनात्मक क्षमता र सामाजिक पृष्ठभूमिले नेतृत्वमा थप सशक्त योगदान दिने विश्वास व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij