चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयनको संघारमा उभिइरहेका बेला पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा समाजसेवी मोहनजंग थापाले गण्डकी भूगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
पार्टी निर्माणको प्रारम्भिक चरणदेखि नै निरन्तर सक्रिय रहँदै आएका थापाको उम्मेदवारीलाई रास्वपा वृत्तमा अनुभवी र संघर्षशील नेतृत्वको निरन्तरताका रूपमा हेरिएको छ। राजनीतिमा अवसरभन्दा उत्तरदायित्व खोज्ने स्वभावका थापा रास्वपाको सुरुवाती यात्रादेखि नै संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन र वैकल्पिक राजनीतिक शक्तिको स्थापना अभियानमा सक्रिय रहँदै आएका छन्। चुनौतीपूर्ण परिस्थितिमा पार्टीलाई स्थापित गर्न, संगठनलाई जनतासम्म पुर्याउन तथा आशा र भरोसाको वातावरण निर्माण गर्न उनले खेलेको भूमिका पार्टीभित्र चर्चाको विषय बन्ने गरेको छ।
पार्टी सभापति रवि लामिछानेप्रति विश्वास व्यक्त गर्दै नयाँ राजनीतिक शक्तिले देशमा परिवर्तनको आधार तयार गर्न सक्छ भन्ने आत्मविश्वास दिलाउने नेतामध्ये थापा अग्रपंक्तिमा रहँदै आएका थिए। लामिछानेमाथि राज्यशक्तिको प्रयोग भएको भन्दै उनी सडकदेखि सामाजिक अभियानसम्म प्रतिवादमा उत्रिएका थिए। रास्वपाको चुनाव चिह्न र लोगोको ब्रान्डिङदेखि संगठनात्मक पहिचान निर्माणसम्म पनि थापाको सक्रियता रहेको नेताहरू बताउँछन्। सरल, सहयोगी र आत्मीय स्वभावका धनी थापाले सामाजिक क्षेत्रमा पनि निरन्तर योगदान दिँदै आएका छन्।
महाधिवेशनमार्फत पार्टीलाई अझ बलियो, व्यवस्थित र जनउत्तरदायी बनाउने उद्देश्यका साथ उम्मेदवारी दिएका थापाले अनुभव, संघर्ष र समर्पणलाई संगठन सुदृढीकरणमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रास्वपाको वैकल्पिक राजनीतिक यात्रामा सुरुदेखि साक्षी बनेका मोहनजंग थापाको उम्मेदवारीलाई गण्डकी प्रदेशको प्रतिनिधित्व मात्र नभई पार्टीको संघर्ष, समर्पण र पहिचानसँग जोडिएको एउटा निरन्तरताको रूपमा समेत हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij