Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा महाधिवेशन : आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने, ९९ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा

रास्वपा महाधिवेशन : आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने, ९९ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने भएको छ। बन्दसत्र निर्धारित समयभन्दा ढिलो गरी सुरु भए पनि निर्वाचन कार्यक्रम भने आजै अघि बढाइने तयारी गरिएको केन्द्रीय निर्वाचन आयोग स्रोतले जनाएको छ। निर्वाचन आयोग स्रोतका अनुसार बन्दसत्र प्रारम्भ भएसँगै उम्मेदवारी तथा अन्य निर्वाचन प्रक्रिया अघि बढाइनेछ। “केही समय ढिलो हुन सक्छ, तर निर्वाचन प्रक्रिया आजै सुरु गर्ने तयारी छ,” स्रोतले जनाएको छ। महाधिवेशनमा सभापति पदमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी भइरहेको छ। यद्यपि केन्द्रीय सदस्यका ९९ पदका लागि भने निर्वाचन हुने निश्चित भएको छ।

संशोधित विधानअनुसार निर्वाचित हुने ९९ केन्द्रीय सदस्यमध्ये सातै प्रदेशबाट अनिवार्य रूपमा ५/५ जना प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रत्येक प्रदेशबाट चयन हुने पाँच जनामध्ये कम्तीमा दुई जना महिला हुनुपर्ने प्रावधान छ। प्रदेशगत कोटाबाट ३५ जना चयन भएपछि बाँकी ६४ केन्द्रीय सदस्यका लागि खुला प्रतिस्पर्धा हुनेछ। निर्वाचन आयोगले उम्मेदवारी दर्ता, मतदान तथा मतगणनाको विस्तृत कार्यतालिका भने अझै सार्वजनिक गरेको छैन। रास्वपाले पहिलो चरणमा सभापति र ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। त्यसपछि दोस्रो चरणमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहितका पदाधिकारी पदका लागि निर्वाचन प्रक्रिया सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ। पार्टीले महाधिवेशनलाई बुधबारसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ। नेतृत्व चयनसँगै आगामी कार्यदिशा, संगठन विस्तार र पार्टी संरचनालाई थप सुदृढ बनाउने विषयमा समेत महाधिवेशनले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij