Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पञ्चेबाजासहित घरबाटै भव्य स्वागत : समाजसेवी मुरलीप्रसाद गजुरेल खैरहनी मावीद्वारा सम्मानित

पञ्चेबाजासहित घरबाटै भव्य स्वागत : समाजसेवी मुरलीप्रसाद गजुरेल खैरहनी मावीद्वारा सम्मानित

खैरहनी : खैरहनी माध्यमिक विद्यालयले समाजसेवी मुरलीप्रसाद गजुरेललाई हार्दिक अभिनन्दन तथा सम्मान मंगलबार गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पन्तको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनिया प्रमुख अतिथि तथा समाजसेवी मुरलीप्रसाद गजुरेल र उहाँकी धर्मपत्नी यशोदा गजुरेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमअघि समाजसेवी गजुरेललाई विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागितामा पञ्चेबाजासहित घरबाट विद्यालयसम्म भव्य स्वागत गरी विद्यालय परिसरमा भित्र्याइएको थियो ।

कार्यक्रममा खैरहनी–२ का वडा अध्यक्ष रोहिणीप्रसाद उप्रेती, खैरहनी–६ का वडा अध्यक्ष कमलप्रसाद न्यौपाने, विद्यालयका प्रधानाध्यापक गोपाल शर्मा, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि, शैक्षिक व्यक्तित्व, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक गोपाल शर्माले विद्यालयको अक्षयकोष अभियानको महत्त्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले २०६७ साल पुस महिनाबाट सुरु गरिएको अक्षयकोषमा हालसम्म १ करोड २३ लाख ५० हजार रुपैयाँ संकलन भएको जानकारी दिनुभयो ।

जन्मदिन, विवाह वर्षगाँठ, नयाँ वर्ष, पुण्यतिथि तथा अन्य शुभ अवसरहरूमा हुने अनुत्पादक खर्चलाई कटौती गरी उक्त रकम अक्षयकोषमा जम्मा गर्ने अभियानले विद्यालयका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षामा ठूलो सहयोग पुर्‍याएको उहाँले बताउनुभयो। विद्यालयका अनुसार अक्षयकोषको मूल रकम सुरक्षित राखी ब्याजबाट मात्र कक्षा ११ र १२ व्यवस्थापनमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अभाव भएका विद्यार्थीहरूलाई वि.स. २०६७ सालदेखी छात्रवृत्ति प्रदान गरिँदै आएको छ । यस अभियानबाट हालसम्म सयौँ विद्यार्थी लाभान्वित भइसकेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख शशिकुमार खनियाले शिक्षा क्षेत्रमा समाजसेवीहरूको योगदान अनुकरणीय रहेको बताउँदै खैरहनी मावीको अक्षयकोष अभियानलाई समुदायस्तरमै उदाहरणीय कार्यको रूपमा चित्रण गर्नुभयो।

उहाँले यस्ता अभियानले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। सम्मानित व्यक्तित्व मुरलीप्रसाद गजुरेलले विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै शिक्षामा लगानी गर्नु नै समाज र राष्ट्र निर्माणको सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि शैक्षिक तथा सामाजिक अभियानहरूमा आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका सभाध्यक्ष नवराज पन्तले विद्यालयको अक्षयकोष अभियानलाई थप सशक्त बनाउँदै आगामी दिनमा अझ धेरै विद्यार्थीलाई सहयोग पुग्ने वातावरण निर्माण गरिने बताउनुभयो। विद्यालयका सहायक प्रधानाध्यापक नवराज ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रमा समाजसेवीहरूको योगदानको प्रशंसा गर्दै अक्षयकोष अभियानलाई अझ विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij