चितवन : खैरहनी नगरपालिकाका कर्मचारीहरूको गम्भीर लापरबाहीका कारण नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् महसुल ढिलो भुक्तानी गर्दा ५८ हजार ६०९ रुपैयाँ जरिवाना तिर्नुपरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदन २०८३ ले यस्तो तथ्य सार्वजनिक गरेको हो।
प्रतिवेदनअनुसार नगरपालिकासहित मातहतका विभिन्न कार्यालय तथा वडा कार्यालयहरूले विद्युत् महसुल समयमै भुक्तानी नगर्दा नेपाल विद्युत् प्राधिकरणलाई अतिरिक्त रकम जरिवानास्वरूप बुझाउनुपरेको हो। सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८ ले पानी, बिजुली, टेलिफोनलगायत उपयोगिता सेवाको बिल समयमै भुक्तानी गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको भए पनि नगरपालिकाले त्यसको पालना नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
महालेखा परीक्षकको परीक्षणका क्रममा नगरपालिकाले विभिन्न विद्युत् बिलमा जरिवाना तिरेको देखिएको छ। प्रतिवेदनअनुसार सबैभन्दा बढी एउटा विद्युत् बिलमा मात्रै २६ हजार ९६१ रुपैयाँ जरिवाना लागेको छ। त्यस्तै अर्को बिलमा १७ हजार १६० रुपैयाँ, वडा कार्यालयका बिलमा ६ हजार २९३ रुपैयाँ र ९८४ रुपैयाँ तथा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीका बिलमा ४ हजार ८१० रुपैयाँ जरिवाना तिरिएको उल्लेख छ।
समयमै महसुल भुक्तानी नगर्दा सार्वजनिक कोषबाट अनावश्यक व्यय भएको भन्दै महालेखा परीक्षकको कार्यालयले यस्तो खर्च नियन्त्रण गर्न र आगामी दिनमा उपयोगिता सेवाको भुक्तानी निर्धारित समयमै गर्न नगरपालिकालाई सचेत गराएको छ। महालेखाको प्रतिवेदनले सार्वजनिक निकायमा वित्तीय अनुशासन र जिम्मेवारीको अभाव देखिएको भन्दै खर्च व्यवस्थापनमा थप सतर्कता आवश्यक रहेको औंल्याएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij