चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सञ्चालनका विषयमा प्रधानमन्त्री बालेन शाहसँग भएको सहमति कार्यान्वयनमा कुनै समस्या आउन नदिने बताएका छन् । चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन शाहकै भएको उल्लेख गर्दै सहकार्यमा स्पष्टता रहेको बताए । “सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो,” उनले भने । “झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो,” उनले थपे ।
लामिछानेले आफ्नो अभिव्यक्तिका क्रममा सहकार्य र जिम्मेवारी बाँडफाँटप्रति स्पष्ट संकेत गर्दै सरकार सञ्चालनमा कुनै विवाद नहुने दाबी गरे । उनका अनुसार नेतृत्व तहबीचको समझदारी नै आगामी राजनीतिक यात्राको आधार हो । उनले पार्टीभित्र र बाहिर आलोचना र अफवाह फैलाउने प्रयास हुने गरेको उल्लेख गर्दै त्यसप्रति आफू सजग रहेको बताए । “यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन्,” उनले भने, “म तिनीहरूलाई जवाफ दिन बोलिरहेको होइन, म इतिहासलाई जवाफ दिन बोलिरहेको छु ।”
सभापति लामिछानेको अभिव्यक्तिपछि हलमा सहभागीहरूले ताली बजाएर समर्थन जनाएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij