Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपालाई उपेन्द्रको शुभकामना– देशलाई नयाँ दिशामा लैजान सफलता मिलोस्

रास्वपालाई उपेन्द्रको शुभकामना– देशलाई नयाँ दिशामा लैजान सफलता मिलोस्

चितवन  :  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकलाई नयाँ दिशा र नयाँ सुरुवाततर्फ अघि बढाउन सफलताको शुभकामना दिएका छन् । चितवनमा आइतबारदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई शुभकामना सन्देश दिँदै यादवले महाधिवेशनले मुलुकको परिवर्तनका लागि ऐतिहासिक निर्णय गर्ने विश्वास व्यक्त गरे । “मुलुकमा रहेका विकृति र विसंगतिहरूको अन्त्य गर्दै नयाँ सुरुवात र नयाँ दिशामा देशलाई लैजान सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु,” उनले भने ।

यादवले रोजगारीको अभावका कारण लाखौं नेपाली युवा विदेशिन बाध्य भएको उल्लेख गर्दै अब देशलाई आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । त्यसका लागि सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । उनले विगतका विकृति र विसंगतिलाई त्यागेर नयाँ युगको थालनी गर्ने अवसर मुलुकले प्राप्त गरेको बताउँदै रास्वपाको महाधिवेशन त्यस दिशामा महत्वपूर्ण बन्न सक्ने धारणा राखे ।

शुभकामना मन्तव्यका क्रममा यादवले संविधान संशोधनको विषयलाई पनि उठाएका थिए । उनले वर्तमान संविधानमा संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धि समेटिए पनि अझै धेरै विषय अधुरा र अपूर्ण रहेको बताए । “संविधानमा रहेका विरोधाभास, कमजोरी र अपूर्णताहरूलाई हटाउँदै समयानुकूल संशोधन र परिमार्जन गर्नु आजको आवश्यकता हो,” उनले भने ।

यादवले संविधानलाई थप परिष्कृत र प्रभावकारी बनाउने जिम्मेवारी राजनीतिक दलहरूकै काँधमा रहेको उल्लेख गर्दै त्यसतर्फ गम्भीर हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij