Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ

रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ

चितवन : वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे । सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउँथे । तर, यस वर्ष भने असारको पहिलो साता सकिनैलाग्दा सौराहाका होटल मुख्य ‘सिजनमा’जस्तै भरिभराउ छन् । होटलमा कोठा पाउन कठिन रहेको अवस्था छ ।

सौराहासहित भरतपुर आसपासका होटल व्यवसायमा भीडभाड देखिनुको कारण ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा)को महाधिवेशन हो । प्रतिनिधिसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ नजिकको सङ्ख्या जित्न सफल सबैभन्दा ठूलो राजनीतिक दल ‘रास्वपा’को आज भरतपुरमा उद्घाटन हुने तीन दिने राष्ट्रिय अधिवेशनका कारण चहलपहल बढेको भनी होटल व्यवसायी खुशी देखिन्छन् ।

होटल व्यवसायी सङ्घ चितवनका अनुसार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा भाग लिन आउने स्वदेशी तथा विदेशी प्रतिनिधि, शुभेच्छुक, नेता तथा कार्यकर्ता, पर्यवेक्षक, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थितिका कारण चहलपहल बढेको हो । महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिको सङ्ख्या चार हजार २११ छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलिया रास्वपाको महाधिवेशनका कारण अहिले बेमौसममा पनि अपेक्षा गरेभन्दा बढी पर्यटक वृद्धि भएको बताउँछन् । उनले भने, “आइतबार सार्वजनिक बिदा हुन थालेपछि यसअघि जस्तो बजार सुनसान थिएन । यसैबीच महाधिवेशन घोषणा भएसँगै सौराहामा चहलपहल बढेको छ । समग्रमा यस वर्ष यहाँका होटल व्यवसायी लाभान्वित भएका छन् ।” सौराहामा रहेका १५० हाराहारी होटलमा सात हजार जनाको क्षमता रहेको उनले बताए ।

सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल महाधिवेशनस्थल भरतपुरबाट केही टाढा भए पनि पर्यटकीयस्थलका रूपमा परिचित सौराहा घुम्नबस्न आउने नेता तथा कार्यकर्ताको सङ्ख्या उल्लेख्य रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij