Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाको महिला उपसभापतिमा बलियो प्रतिस्पर्धा

रास्वपाको महिला उपसभापतिमा बलियो प्रतिस्पर्धा

चितवन  :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । नीति, नेतृत्व र आगामी कार्यदिशा तय गर्ने उद्देश्यसहित आयोजना गरिएको तीनदिने महाधिवेशनमा राजनीतिक, सांगठानिक तथा विधानसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।

महाधिवेशनको सबैभन्दा महत्वपूर्ण एजेन्डा नयाँ नेतृत्व चयन भए पनि सभापति पदमा पार्टीका संस्थापक सभापति रवि लामिछानेलाई नै निरन्तरता दिइने लगभग निश्चित भएको स्रोतहरू बताउँछन् । शीर्ष नेताहरू महत्वपूर्ण राजकीय भूमिकामा रहेकाले लामिछानेलाई निर्विरोध सभापति घोषणा गर्ने तयारी गरिएको छ ।

संशोधित विधानअनुसार रास्वपामा एक महिलासहित तीन उपसभापति रहने व्यवस्था छ । उपसभापति डा. स्वर्णिम वाग्ले हाल अर्थमन्त्री रहेकाले उनको पद सुरक्षित मानिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी गरिएको छ भने उक्त पदलाई निर्वाचन प्रक्रियाबाहिर राख्नेबारे पनि छलफल भइरहेको बताइएको छ ।

खुला उपसभापतिको एक पदका लागि भने कडा प्रतिस्पर्धा देखिएको छ । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार मन्त्री सुनिल लम्साल र परराष्ट्रमन्त्री शिशिर खनाल आकांक्षीका रूपमा देखिएका छन् । प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पनि उपसभापतिमा दाबी प्रस्तुत गर्न सक्ने चर्चा छ ।

महिला उपसभापति पदमा झनै बढी प्रतिस्पर्धा देखिएको छ । सहमहामन्त्री प्रतिभा रावल, कोषाध्यक्ष लीमा अधिकारी, कानुनमन्त्री सोविता गौतम तथा समीक्षा बाँस्कोटाले उक्त पदमा रुचि देखाएका छन् । पार्टीभित्र आकांक्षीहरूबीच सहमति जुटाएर केही पद निर्विरोध गराउने प्रयाससमेत जारी रहेको स्रोतको दाबी छ ।

नेतृत्व चयनसँगै रास्वपाको आगामी संगठनात्मक संरचना र राजनीतिक दिशाबारे समेत महाधिवेशनले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij