Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन सुरु, दिउँसो २ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले समुद्घाटन गर्ने

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन सुरु, दिउँसो २ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले समुद्घाटन गर्ने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएको छ। आजदेखि भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुने महाधिवेशनका लागि आवश्यक व्यवस्थापन तथा संगठनात्मक तयारी सम्पन्न भएको जानकारी पार्टीले दिएको छ। शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र प्रभावकारी बनाउन आवश्यक सबैजसो तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।

पार्टीका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिहरूबाट प्रतिनिधि चयनको प्रक्रिया सम्पन्न भइसकेको छ। महाधिवेशनस्थलको व्यवस्थापन, आवास, यातायात, सुरक्षा, स्वयंसेवक परिचालनलगायत सबै पक्षको तयारी पूरा भएको जनाइएको छ। प्रवक्ता झाले महाधिवेशनलाई सफल बनाउन १८ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार राजनीतिक, आर्थिक तथा संगठनात्मक प्रतिवेदन तयार भइसकेका छन् भने केन्द्रीय समितिले महाधिवेशनमा प्रस्तुत गरिने संशोधित विधानसमेत पारित गरिसकेको छ।

भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्ने प्रस्ताव अनुमोदन गरेको छ। प्रस्तावअनुसार हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाइनेछ। प्रदेश सभापतिहरूलाई पदेन सदस्यको रूपमा समावेश गर्ने व्यवस्था गरिएको छ।

संशोधित विधानले पार्टी पदाधिकारीमा महिला सहभागिता अनिवार्य गर्ने व्यवस्था पनि गरेको छ। अब उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमध्ये कम्तीमा एक–एक जना महिला रहने प्रावधान समेटिएको छ। यसअघि पदाधिकारीमा महिला प्रतिनिधित्व अनिवार्य थिएन।नयाँ संरचनाअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा दुई सहकोषाध्यक्ष रहने प्रस्ताव गरिएको छ। विधान संशोधनमार्फत १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ५१ जना सदस्य पार्टी सभापतिले मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ। समावेशी प्रतिनिधित्व र विभिन्न राजनीतिक समूहहरूको समायोजनलाई ध्यानमा राख्दै उक्त व्यवस्था प्रस्ताव गरिएको विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले जानकारी दिनुभयो। बाँकी ९९ सदस्य भने खुला प्रतिस्पर्धाबाट चयन हुनेछन्।

पार्टीले प्रत्येक प्रदेशबाट कम्तीमा पाँच जना केन्द्रीय सदस्य, जसमा एक महिला अनिवार्य रहने व्यवस्था समेत प्रस्ताव गरेको छ। महाधिवेशनले संगठन सुदृढीकरण, भावी राजनीतिक कार्यदिशा निर्धारण तथा नयाँ नेतृत्व चयनलाई मुख्य प्राथमिकतामा राख्ने रास्वपाले जनाएको छ। प्रवक्ता झाले महाधिवेशनमा विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल हुने बताउनुभयो। महाधिवेशनले आगामी कार्ययोजना तय गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा पार्टीले गरेको छ।

रास्वपाले स्थानीय तहसम्म संगठन विस्तार गर्ने लक्ष्य लिएको उल्लेख गर्दै प्रवक्ता झाले पार्टीले भ्रातृ संगठनको अवधारणा नअपनाउने स्पष्ट पार्नुभयो। उहाँका अनुसार निर्वाचनमा प्राप्त जनमतलाई पार्टीको मुख्य राजनीतिक पूँजीका रूपमा लिइएको छ। महाधिवेशनमा कुल तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। तीमध्ये ३०० प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ। पार्टीले हालसम्म पाँच लाख सदस्य संख्या पार गरिसकेको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार हालसम्म ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठनात्मक अधिवेशन सम्पन्न गरिएको छ। त्यस्तै छ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि छनोट प्रक्रिया पूरा भइसकेको छ। मधेश प्रदेश तथा अधिवेशन हुन बाँकी १३ जिल्लाबाट भने तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij