Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

लोकतन्त्र र संविधान सुदृढ बनाउन रास्वपा प्रतिबद्ध : रवि लामिछाने

लोकतन्त्र र संविधान सुदृढ बनाउन रास्वपा प्रतिबद्ध : रवि लामिछाने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति Rabi Lamichhane रवि लामिछानेले लोकतन्त्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा सुदृढीकरणमा आफ्नो पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। चितवनमा शुक्रबार आयोजित पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा राजनीतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा संविधान निर्माणका लागि भएका ऐतिहासिक त्याग, बलिदान र संघर्षको सम्मान गर्दै रास्वपाले संविधानलाई अझ बलियो बनाउने दिशामा काम गरिरहेको बताए।

उनले लोकतन्त्रका मूल्य, मान्यता र संवैधानिक व्यवस्थाप्रति पार्टीको अडान स्पष्ट पार्दै भने, “संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र मुलुकलाई यहाँसम्म ल्याउन भएका त्याग–बलिदानको जगमा हामी उभिएका छौँ। लोकतन्त्रका मूल्य र मान्यताबाट हामी कहिल्यै विमुख हुँदैनौँ।” सभापति लामिछानेले पार्टीको आगामी यात्रा अझ जिम्मेवार, परिपक्व र नागरिकमुखी हुनुपर्नेमा जोड दिए। देशले रास्वपाबाट सुशासन, समृद्धि र सामाजिक न्यायको अपेक्षा गरेको उल्लेख गर्दै उनले जनविश्वासलाई व्यवहारमा रूपान्तरण गर्न सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए।

उनले पार्टीको पहिलो महाधिवेशनपछि नेतृत्वमा जोसुकै आए पनि सम्पूर्ण कार्यकर्ताले जिम्मेवार नागरिक र परिवर्तनका संवाहकका रूपमा भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। सम्बोधनका क्रममा लामिछानेले पार्टी स्थापना र दर्ताका प्रारम्भिक दिनहरू स्मरण गर्दै अनेक चुनौती र अवरोधका बीच रास्वपा निर्माण भएको बताए। निर्वाचन आयोगमा पार्टी दर्तादेखि राजनीतिक संघर्षका विभिन्न चरण पार गर्नुपरेको उल्लेख गर्दै उनले आफूले समेत प्रहरी हिरासतको अनुभव भोग्नुपरेको स्मरण गरे।

“राजनीतिक यात्रा सधैं सहज हुँदैन। चुनौती, संघर्ष र उतारचढावका बीचबाटै हामी यहाँसम्म आइपुगेका छौँ,” उनले भने। चार वर्षको छोटो अवधिमै रास्वपाले आम नागरिकको विश्वास जित्न सफल भएको दाबी गर्दै उनले नागरिकको खबरदारी, सुझाव र अपेक्षाले नै पार्टीलाई सही दिशामा अघि बढ्न प्रेरित गरेको बताए। सभापति लामिछानेले नागरिकको विश्वास नै रास्वपाको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझ बढी जिम्मेवारी, पारदर्शिता र जवाफदेहिताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij