Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ओम मेगाश्री फर्मास्युटिकल्सद्वारा रोयल फर्मास्युटिकल्स प्राप्ति प्रक्रिया अघि बढाइने

ओम मेगाश्री फर्मास्युटिकल्सद्वारा रोयल फर्मास्युटिकल्स प्राप्ति प्रक्रिया अघि बढाइने

चितवन : चितवनस्थित रोयल फर्मास्युटिकल्सलाई काठमाडौँको ओम मेगाश्री फर्मास्युटिकल्सले प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया अघि बढाउने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नेपालकै पहिलो फर्मा कम्पनी ओम मेगाश्रीले रोयल फर्मास्युटिकल्स प्रालिसँग प्रारम्भिक सम्झौता गर्दै प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो ।

काठमाडौँको नयाँबानेश्वरस्थित कम्पनी कार्यालयमा दुवै पक्षबीच प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतामा ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ र रोयल फर्मास्युटिकल्सका तर्फबाट अबिरल नेपाल सहभागी हुनु भएको थियो । सम्झौताअनुसार दुवै कम्पनीको सिफारिसमा स्वतन्त्र समिति गठन गरी ड्यु डिलिजेन्स (डीडीए) प्रक्रिया सञ्चालन गरिनेछ । सो मूल्याङ्कन प्रतिवेदनका आधारमा अन्तिम प्राप्ति प्रक्रिया अघि बढाइने जनाइएको छ ।

ओम मेगाश्रीका अध्यक्ष श्रेष्ठका अनुसार स्वतन्त्र निकायले कम्पनीको आर्थिक, प्राविधिक तथा सञ्चालन अवस्थाको विस्तृत अध्ययन गर्नेछ । “स्ट्याण्डर्ड मापदण्डअनुसार ड्यु डिलिजेन्स सम्पन्न भएपछि प्राप्त हुने सिफारिसका आधारमा प्रक्रिया अगाडि बढाइनेछ,” उहाँले बताउनुभयो । उहाँले यो कदमलाई नेपाली औषधि उद्योगका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उत्पादन विविधता, गुणस्तर सुधार तथा बजार विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, दीर्घकालीन रूपमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यसअघि असार २ गते बसेको ओम मेगाश्रीको सञ्चालक समिति बैठकले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने निर्णय गरेको थियो । सन् २०१७ मा स्थापना भएको रोयल फर्मास्युटिकल्सले हाल ८२ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीसँग चितवनमा डब्लुएचओ–जीएमपी प्रमाणित उत्पादन प्लान्ट रहेको छ । प्राप्ति प्रक्रिया सम्पन्न भएमा नेपाली औषधि उद्योगमा समेकन (कन्सोलिडेसन) बढ्ने र प्रतिस्पर्धात्मक क्षमता अझ मजबुत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट