Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भारतीय पर्यटकको रोजाइ बन्दै लुम्बिनी केवलकार, कामाख्या मन्दिर दर्शनमा बढ्यो आकर्षण

भारतीय पर्यटकको रोजाइ बन्दै लुम्बिनी केवलकार, कामाख्या मन्दिर दर्शनमा बढ्यो आकर्षण

काठमाडौं : रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुरलाई जोड्ने लुम्बिनी केवलकारमा भारतीय पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। केवलकार व्यवस्थापनका अनुसार वैशाखदेखि जेठसम्मको दुई महिनाको अवधिमा आएका कुल पर्यटकमध्ये करिब ६५ देखि ७० प्रतिशत भारतीय नागरिक रहेका छन्।

विशेषगरी भारतको गोरखपुर, महाराजगञ्ज र बाल्मीकिनगर क्षेत्रबाट आउने पर्यटकको संख्या बढ्दै गएको लुम्बिनी केवलकारले जनाएको छ। केवलकारमार्फत पुगिने टप स्टेशनस्थित माँ कामाख्या मन्दिर भारतीय तथा नेपाली श्रद्धालुहरूको प्रमुख आकर्षणको केन्द्र बनेको छ। लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेका अनुसार पछिल्ला दिनहरूमा भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। धार्मिक आस्थाका कारण कामाख्या माताको दर्शन गर्न आउने भक्तजनको संख्या निरन्तर वृद्धि भइरहेको उनले बताए। श्रद्धालुहरूमा माताको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास रहेको छ।

भारतीय पर्यटकको बढ्दो आगमनले केवलकार मात्र नभई आसपासका होटल, स्थानीय बजार तथा व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको छ। सीमावर्ती क्षेत्र र बुटवल आसपासको आर्थिक गतिविधि चलायमान बनाउन यसले महत्वपूर्ण योगदान दिएको बताइएको छ। २०८० जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको लुम्बिनी केवलकारको औपचारिक उद्घाटन भने २०८० जेठ २५ गते गरिएको थियो। स्थानीय व्यवसायी तथा आईएमई समूहको लगानीमा निर्माण भएको केवलकार बुटवलको बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म करिब ३.६ किलोमिटर लामो छ।

केवलकारका अपरेसन म्यानेजर डी.एन. सैंजूका अनुसार अष्ट्रियाको डोप्पलमायर कम्पनीको अत्याधुनिक प्रविधिबाट निर्मित यो केवलकार विश्वस्तरीय सुरक्षा प्रणालीयुक्त छ। दैनिक करिब ६ हजार यात्रु ओसारपसार गर्न सक्ने क्षमता रहेको केवलकारको सेवा विस्तारसँगै नयाँ पूर्वाधार विकासका योजना अघि बढाइएको उनले बताए। उनका अनुसार बसन्तपुरस्थित माथिल्लो स्टेशनमा करिब साढे तीन अर्ब रुपैयाँ लगानीमा एक हजार क्षमताको बैंक्वेट हलसहित पाँचतारे होटल निर्माणको प्रक्रिया सुरु गरिएको छ। विशेषगरी भारतको उत्तर प्रदेशबाट आउने पर्यटकलाई लक्षित गरी निर्माण गर्न लागिएको उक्त होटल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट