Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कान्छीचोक दुर्घटनाबारे प्रहरीको स्पष्टिकरण, अपुष्ट सूचना नफैलाउन आग्रह

कान्छीचोक दुर्घटनाबारे प्रहरीको स्पष्टिकरण, अपुष्ट सूचना नफैलाउन आग्रह

चितवन : भरतपुर महानगरपालिका–१५ कान्छीचोकमा केही दिनअघि भएको सवारी दुर्घटनासम्बन्धी सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएका सूचनाप्रति जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरीका अनुसार जेठ २८ गते राति करिब १२ः३० बजे सूर्यनगरबाट कान्छीचोकतर्फ आउँदै गरेको मोटरसाइकल र चनौलीबाट गीतानगरतर्फ जाँदै गरेको कार एकापसमा ठोक्किँदा तीन जना घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि भरतपुरस्थित अस्पतालमा लगिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भरतपुर–१५ कान्छीचोक निवासी २२ वर्षीय रामकिशोर मुखिया, रामबलक मुखिया र मणि मुखिया घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये चालक रामकिशोर मुखियाको उपचार जारी रहेको छ भने अन्य दुई जना उपचारपछि घर फर्किसकेका छन्।

घटनामा संलग्न कार चालक फुलमाया देउजालाई इलाका प्रहरी कार्यालय चनौलीको टोलीले नियन्त्रणमा लिएर आवश्यक परीक्षण गरेको थियो। परीक्षणका क्रममा चालकले मादक पदार्थ सेवन गरेको नदेखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त कारमा पत्रकार सन्तोष देउजा समेत सवार रहेको जनाइएको छ।

प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्रभूषण यादवका अनुसार दुर्घटनापछि कार चालकले घाइतेहरूको सम्पूर्ण उपचार खर्च तथा क्षतिग्रस्त सवारी साधनको मर्मत खर्च व्यहोर्ने सहमति भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै तथ्यहीन तथा अपुष्ट सूचना सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत प्रसारण नगर्न सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट