चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को १६औँ स्थापना दिवसको अवसरमा “नेपालमा कृषिको भविष्यः शिक्षा, अनुसन्धान, नीति र उद्यमशीलता” विषयक कृषि संवाद कार्यक्रम चितवनमा सम्पन्न भएको छ। कृषि संकायका डीन प्रा.डा. सुन्दर तिवारीको नेतृत्वमा आयोजित कार्यक्रममा कृषि क्षेत्रका समसामयिक चुनौती, नीतिगत सुधार, अनुसन्धानको प्रभावकारिता तथा उद्यमशीलताको विकासबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै डीन तिवारीले कृषि क्षेत्रका जटिल समस्याको समाधानका लागि प्राज्ञिक क्षेत्र, नीति निर्माता, अनुसन्धानकर्ता र किसानबीच प्रत्यक्ष तथा निरन्तर संवाद आवश्यक रहेको बताउनुभयो। समापन मन्तव्यमा उहाँले विश्वविद्यालयको द्रुत प्रतिकार्य टोली (Rapid Response Team) सहित किसानका खेतबारीमै पुगेर समस्या पहिचान तथा समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. होमबहादुर बस्नेत, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्व कार्यकारी निर्देशक डा. यमराज पाण्डे, बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव सुधिर श्रेष्ठ, तथा कृषि उद्यमी डा. भानेश्वर पोखरेलले प्रमुख वक्ताका रूपमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।
उपकुलपति बस्नेतले कृषि शिक्षालाई व्यवहारिक, उत्पादनमुखी र समयानुकूल बनाउनुपर्नेमा जोड दिँदै शिक्षा, अनुसन्धान र उत्पादनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो। डा. यमराज पाण्डेले कृषि अनुसन्धानलाई किसानको आवश्यकता र बजारको मागसँग जोड्न सके मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले अनुभवजन्य जनशक्ति संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। त्यसैगरी, कृषि सचिव सुधिर श्रेष्ठले कृषि नीतिहरूलाई किसानमैत्री र उत्पादनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो भने कृषि उद्यमी डा. भानेश्वर पोखरेलले कृषिलाई जीविकोपार्जनको मात्र नभई आधुनिक र लाभदायी उद्यमका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो।
प्राङ्गारिक कृषक चन्द्रप्रसाद अधिकारीले विश्वविद्यालय र किसानबीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै नियमित फिल्ड भ्रमण, किसान विद्यालय र अनुसन्धानको प्रत्यक्ष हस्तान्तरण प्रणाली आवश्यक रहेको बताउनुभयो। अन्य सहभागी प्राङ्गारिक किसानहरूले प्राङ्गारिक उत्पादनको प्रमाणीकरण, प्राविधिक सहयोग र बजारीकरणमा सरकारी सहयोग अपरिहार्य रहेको माग राखे। कार्यक्रममा किसानहरूले बालीमा देखिने रोग–कीराको समस्या समाधानमा अनुसन्धान निकायहरूको कमजोरीप्रति चिन्ता व्यक्त गर्दै अनुसन्धानलाई व्यवहारिक बनाउनुपर्ने मागसमेत गरे। साथै, स्थानीय तहहरूलाई कृषि अनुसन्धान र प्रविधि विस्तारमा सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिइयो। समापनमा सहभागी सबै पक्षले कृषि शिक्षा, अनुसन्धान, नीति र उद्यमशीलताको एकीकृत समन्वयमार्फत मात्र नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र आधुनिक बनाउन सकिने निष्कर्ष निकालेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij