बुटवल : नेकपा (एमाले) ले पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षालाई केन्द्रमा राख्दै लुम्बिनी प्रदेशस्तरीय बैठक सुरु गर्ने भएको छ। एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार कपिलवस्तुको चनौटास्थित एक होटलमा बैठक आयोजना गरिएको हो। बैठक दिउँसो १२ बजेदेखि सुरु हुने बताइएको छ।
बैठकमा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शङ्कर पोखरेल तथा सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत शीर्ष नेताहरूको सहभागिता रहनेछ।
बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहने जनाइएको छ। अध्यक्ष कँडेलका अनुसार बैठकको मुख्य एजेन्डा पार्टीको सङ्गठनात्मक पुनर्गठन, पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी राजनीतिक रणनीति तय गर्नु रहनेछ।
एमालेले यसअघि कोशी र बागमती प्रदेशमा यस्तै प्रकारका पुनर्गठन तथा समीक्षा बैठक सम्पन्न गरिसकेको छ। लुम्बिनीको बैठकलाई पार्टी सङ्गठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij