चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) ले आफ्नो १६औँ वार्षिकोत्सव किसान तथा समुदायसँग प्रत्यक्ष जोडिने विविध कार्यक्रम गरी मनाएको छ। वार्षिकोत्सवको अवसरमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, विभिन्न संकाय तथा आंगिक कलेजहरूमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म किसानमुखी कार्यक्रम सञ्चालन गरिएको थियो।
बाली उपचार तथा पशु स्वास्थ्य शिविर, धान खेतीसम्बन्धी तालिम, रेविज विरुद्धको खोप अभियान, विषादीको असरबारे सचेतना कार्यक्रम, एएफयू जर्नल तथा पीएचडी एब्स्ट्र्याक्ट विमोचनलगायतका गतिविधि आयोजना गरिएका थिए। यसै अवसरमा विश्वविद्यालयले प्लान्ट क्लिनिक र एनिमल क्लिनिक सेवाको समेत शुभारम्भ गरेको छ। कार्यक्रम उपकुलपति प्रा. डा. होमबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने भरतपुर महानगरपालिकाका प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश आर्याल तथा भरतपुर–१५ का वडा अध्यक्ष कृष्ण देवकोटाले किसानको समृद्धिसँग विश्वविद्यालयको भूमिका अझ प्रभावकारी बनाउन नवीन सोच र व्यावहारिक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। उपकुलपति बस्नेतले विश्वविद्यालयलाई जनतासँग थप नजिक जोड्ने उद्देश्यले ‘जनतासँग एएफयू’ कार्यक्रम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा रजिष्ट्रार प्रा. डा. सुविर सिंह, योजना अधिकृत रामहरि तिमिल्सिनालगायत पदाधिकारी, प्राध्यापक, विद्यार्थी तथा किसानहरूको सहभागिता रहेको थियो। विश्वविद्यालयले वार्षिकोत्सवलाई औपचारिक समारोहमा सीमित नराखी किसान र समुदायसँग प्रत्यक्ष संवाद तथा सेवा प्रवाहमा केन्द्रित गरेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij