चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले स्थापना भएको १६ वर्षको अवधिमा कुल ५ हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन्। विश्वविद्यालयले बुधबार आफ्नो स्थापना दिवसको अवसरमा उक्त तथ्य सार्वजनिक गरेको हो। वि.सं. २०६७ असार ३ गते स्थापना भएको विश्वविद्यालयमा हाल स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा अध्ययन–अध्यापन हुँदै आएको छ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. सुविरसिंहका अनुसार कृषि संकायतर्फ स्नातकमा ३,०१४, स्नातकोत्तरमा ८८८ र विद्यावारिधिमा ५४ विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, पशुचिकित्सा तथा पशुपालनतर्फ स्नातकमा ३८८, स्नातकोत्तरमा ३१२ र विद्यावारिधिमा १० विद्यार्थी उत्तीर्ण भएका छन्। मत्स्यविज्ञानतर्फ स्नातकमा ११३, स्नातकोत्तरमा ५० र विद्यावारिधिमा ४ विद्यार्थी उत्तीर्ण भएका छन्। वनविज्ञानतर्फ स्नातकमा ८९३, स्नातकोत्तरमा १७६ र विद्यावारिधिमा ४ विद्यार्थी उत्तीर्ण भएका छन्।
समग्रमा तीन वटै संकायतर्फ स्नातकमा ४,४०८, स्नातकोत्तरमा १,४२६ र विद्यावारिधिमा ७२ विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये अधिकांश आफ्नै विश्वविद्यालयका हुन् भने केही विदेशी विद्यार्थी पनि रहेका छन्।