Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुर महानगरमा १८ योजनामा बजेट रकमान्तर, विकास योजनामा व्यापक हेरफेर

भरतपुर महानगरमा १८ योजनामा बजेट रकमान्तर, विकास योजनामा व्यापक हेरफेर

चितवन : भरतपुर महानगरपालिकामा आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर असारे विकासको चटारोसँगै बजेट रकमान्तर तथा योजना संशोधन तीव्र भएको छ। नगर कार्यपालिका बैठक नं.  ११९ को निर्णयअनुसार विभिन्न वडाका १८ वटा योजनामा बजेट हेरफेर गरिएको हो।

निर्णयअनुसार वडा नं. १९ मा सडक कालोपत्रे योजनाका लागि विनियोजित १६ लाख रुपैयाँ हटाएर चिल्ड्रेन पार्क परिसरभित्र स्विमिङ पुल निर्माणमा सारिएको छ। त्यस्तै वडा नं. ६ मा टोल विकास, बालबालिका कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मानका लागि छुट्याइएको बजेट कटौती गरी जोखिम न्यूनीकरण तथा सुरक्षा व्यवस्थापनमा विनियोजन गरिएको छ।

वडा नं. १८ मा कर्मचारी क्षमता विकासको बजेट कटौती गरी जनप्रतिनिधि तथा कर्मचारी अवलोकन भ्रमणमा खर्च गरिने भएको छ। वडा नं. ११ मा सडक बत्ती मर्मतको बजेट हटाएर वडा कार्यालयको विद्युत् व्यवस्थापन तथा उपकरण खरिदमा प्रयोग गरिने निर्णय गरिएको छ। अपाङ्ग सहायता शीर्षकको बजेट भने योग साधना केन्द्रलाई प्रदान गरिने भएको छ।

वडा नं. १७ मा छात्रवृत्ति तथा विद्यालय प्रोत्साहनका लागि विनियोजित रकम कटौती गरी विभिन्न विद्यालयमा सीसी क्यामेरा जडान गरिने भएको छ। यस्तै वडा नं. २५ र २३ मा हरियाली प्रवर्द्धन, सिँचाइ तथा विपद् व्यवस्थापनका बजेट समेत सडक तथा पूर्वाधार योजनामा सारिएको छ। बजेट हेरफेरसँगै भरतपुर महानगरमा विकास योजनाको प्राथमिकतामाथि प्रश्न उठ्दै असारे विकासको चटारो थप तीव्र बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट