धादिङ : धादिङको उत्तरी क्षेत्र त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाममा एक महिनासम्म सञ्चालन भएको पुरुषोत्तम महामहोत्सव सवा करोड बत्ती प्रज्वलन गर्दै सम्पन्न भएको छ। आयोजकका अनुसार महोत्सव अवधिभर करिब ३५ लाखभन्दा बढी धार्मिक पर्यटकले नृसिंहधामको दर्शन गरेका छन्। बुढीगण्डकी र आँखुखोलाको संगमस्थलमा अवस्थित यस पवित्र स्थलमा पहिलो पटक यति ठूलो स्तरको धार्मिक महोत्सव आयोजना गरिएको हो।
महोत्सवका क्रममा करिब पाँच करोड रुपैयाँ दान संकलन भएको पनि आयोजकले जनाएको छ। धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको नृसिंहधामलाई देशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो। स्थानीय जनप्रतिनिधिहरूले यस क्षेत्रको समुचित प्रचारप्रसार र पूर्वाधार विकासका लागि संघ र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताएका छन्।
स्कन्द पुराण र वराह पुराणमा उल्लेख गरिएको नृसिंहधामलाई भगवान् नृसिंहदेव प्रकट भएको पवित्र स्थलका रूपमा लिने गरिन्छ। भक्त प्रह्लादको रक्षा र हिरण्यकश्यप वधसँग जोडिएको धार्मिक मान्यताले यसको महत्व अझ बढाएको छ। स्थानीयवासीका अनुसार उचित विकास भएमा नृसिंहधामसहित उत्तरी धादिङका धार्मिक तथा प्राकृतिक स्थलले वर्षभरि नै पर्यटक आकर्षित गर्न सक्ने र यसले स्थानीय आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।