Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ठेकेदारको ‘खुट्टा भाँचिदिनू’ भन्ने मन्त्री लम्सालको अभिव्यक्ति विवादमा

ठेकेदारको ‘खुट्टा भाँचिदिनू’ भन्ने मन्त्री लम्सालको अभिव्यक्ति विवादमा

काठमाडौं : पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक विस्तारमा ढिलासुस्ती गर्ने र बिजुलीका पोल नसार्ने ठेकेदारमाथि सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति विवाद उत्पन्न भएको छ। नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षणका क्रममा उनले ठेकेदारलाई “जहाँ भेटिन्छ त्यहीँ समातेर खुट्टा भाँचिदिनू” भन्दै दिएको निर्देशन सामाजिक सञ्जालमा भाइरल बनेपछि आलोचना सुरु भएको हो।

आइतबार सडक आयोजनाको स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले बिजुलीका पोल समयमै नहटाइँदा सडक निर्माणको काम प्रभावित भएको भन्दै आक्रोश व्यक्त गरेका थिए। सो क्रममा मन्त्रालयका सचिव, धादिङका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षाकर्मीहरूको उपस्थितिमै उनले सम्बन्धित ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे “खुट्टा भाँचिदिनू” भन्दै अभिव्यक्ति दिएका थिए।

मन्त्री लम्सालले भनेका थिए, “बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ? त्यसलाई खोजेर यहाँ लिएर आउनू। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन।” उनको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। धेरैले जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट कानुनी प्रक्रिया विपरीत हिंसात्मक अभिव्यक्ति आउनु अनुपयुक्त भएको टिप्पणी गरेका छन् भने केहीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीप्रति व्यक्त गरिएको आक्रोशका रूपमा हेरेका छन्।

नागढुंगा–मुग्लिङ सडक खण्ड विस्तारको काम विभिन्न कारणले प्रभावित हुँदै आएको छ। विशेषगरी बिजुलीका पोल स्थानान्तरणमा भएको ढिलाइले निर्माण कार्यमा असर परेको आयोजनाले जनाएको छ। मन्त्रीको अभिव्यक्तिबारे सरकार वा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया भने आइसकेको छैन। यद्यपि, उक्त भिडियो सार्वजनिक भएसँगै मन्त्री लम्सालको अभिव्यक्ति यतिबेला राजनीतिक तथा सामाजिक वृत्तमा बहसको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट