Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

४५ वर्षमा २ हजारभन्दा बढी घडियाल नदीमा छाडिए, प्राकृतिक वासस्थानमा अझै चुनौती

४५ वर्षमा २ हजारभन्दा बढी घडियाल नदीमा छाडिए, प्राकृतिक वासस्थानमा अझै चुनौती

चितवन : चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको घडियाल गोही संरक्षण तथा प्रजनन केन्द्रले विगत ४५ वर्षमा विभिन्न नदीमा दुई हजार ३१५ वटा घडियाल गोही छाडेको जनाएको छ। तीमध्ये सबैभन्दा धेरै एक हजार ५६० वटा घडियाल राप्ती नदीमा छाडिएका छन्।

चालु आर्थिक वर्षमा मात्रै केन्द्रले २२५ वटा घडियाल प्राकृतिक वासस्थानमा छाडेको छ। छाडिएका घडियालमध्ये १४ वटा भाले र २११ वटा पोथी रहेका छन्। केन्द्रका अनुसार राप्तीसँगै नारायणी, सप्तकोशी, कर्णाली लगायतका नदीमा पनि घडियाल गोही छाडिँदै आएको छ। यद्यपि, संरक्षण प्रयासका बाबजुद प्राकृतिक वासस्थानमा घडियालको सङ्ख्यामा अपेक्षाकृत वृद्धि हुन सकेको छैन। गत वर्ष गरिएको गणनाअनुसार राप्ती र नारायणी नदीमा जम्मा ३६६ वटा घडियाल मात्र भेटिएका थिए।

विश्वमै संकटापन्न प्रजातिका रूपमा सूचीकृत घडियाल गोहीको संख्या सन् १९४० को दशकमा करिब १० हजार रहेको अनुमान गरिए पनि सन् १९७० सम्म आइपुग्दा दुई प्रतिशतमा सीमित भएको थियो। नेपालमा पनि घडियालको संख्या एक सयभन्दा कम भएपछि संरक्षण अभियान तीव्र बनाइएको थियो।

सोही अभियानअन्तर्गत सन् १९७५ मा चितवनमा घडियाल गोही संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको हो। हाल केन्द्रमा करिब ५०० वटा घडियाल रहेका छन् भने नियमित प्रजनन कार्यक्रममार्फत नयाँ बच्चा उत्पादन गर्ने कार्य जारी रहेको छ। विज्ञहरूका अनुसार नदीजन्य पदार्थको अत्यधिक दोहन, जल प्रदूषण, मानव गतिविधि तथा प्राकृतिक वासस्थानमा आएको ह्रास घडियाल संरक्षणका प्रमुख चुनौती बनेका छन्। संरक्षणकर्मीहरूले घडियालको दीर्घकालीन अस्तित्वका लागि प्रजननसँगै प्राकृतिक वासस्थान संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट