Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गैँडाकोट खानेपानी संस्थामा काँग्रेस–एमाले गठबन्धनको ‘क्लीन स्वीप’, रास्वपा पराजित

गैँडाकोट खानेपानी संस्थामा काँग्रेस–एमाले गठबन्धनको ‘क्लीन स्वीप’, रास्वपा पराजित

गैँडाकोट : गैँडाकोट नगर क्षेत्रकै सबैभन्दा जेठो र प्रतिष्ठित उपभोक्ता संस्था “गैँडाकोट पम्पिङ स्कीम तथा खानेपानी उपभोक्ता संस्था” को नयाँ नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनले ऐतिहासिक जित दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पूर्ण रूपमा पराजित गर्दै गठबन्धनको पूरा प्यानल नै विजयी भएको हो। निर्वाचन समितिका संयोजक जनक ढुङ्गानाले सार्वजनिक गर्नुभएको अन्तिम मतपरिणाम अनुसार संस्थाको अध्यक्ष पदमा नेपाली काँग्रेसका विपिनभक्त अधिकारी विजयी हुनुभएको छ। उहाँले रास्वपाका उम्मेदवार ज्ञानेन्द्र सापकोटालाई पराजित गर्नुभएको हो।

त्यस्तै, उपाध्यक्ष पदमा नेकपा एमालेका कृष्णप्रसाद काफ्ले, सचिव पदमा काँग्रेसका दामोदर तिवारी, कोषाध्यक्षमा एमालेका श्रीराम सुवेदी तथा सहसचिवमा रुद्रबहादुर थापा विजयी हुनुभएको छ। लेखा संयोजकमा भोजेन्द्र पौडेल निर्वाचित हुँदा लेखा सदस्यहरूमा विष्णु सापकोटा रिमाल र सन्तबहादुर श्रेष्ठ चयन हुनुभएको छ। खुला महिला सदस्यतर्फ तिर्सना अधिकारी, पदमा देवी शर्मा सुवेदी, पार्वती पोखरेल र लक्ष्मी पाण्डे घिमिरे विजयी हुनुभएको छ। यस्तै भौगोलिक क्लस्टर संयोजकहरूमा अर्जुन पराजुली, नारायण घिमिरे, वेदबन्धु रेग्मी, धनप्रसाद सापकोटा, वेदप्रसाद गौडेल र सरस्वती न्युरे निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।

भूमिगत जलस्रोतलाई प्रविधिमार्फत तानेर गैँडाकोटका घरधुरीमा २४ सै घण्टा शुद्ध खानेपानी पुर्‍याउँदै आएको यो संस्था नगरकै सबैभन्दा ठूलो र करोडौँ बजेटको उपभोक्ता संस्था हो। ठूलो जनसङ्ख्या र उपभोक्ता आबद्ध भएकाले यहाँको नेतृत्व पाउनु स्थानीय राजनीतिमा मेयर जित्नु सरहकै प्रतिष्ठाको विषय मानिन्छ। स्थानीय स्तरमा पुराना दलहरूको संयुक्त गठबन्धन बलियो देखिएपछि नयाँ राजनीतिक शक्ति रास्वपाले भने यस पटक एउटै पनि पद सुरक्षित गर्न नसकेको परिणाम आएको छ। नवनिर्वाचित कार्यसमितिले संस्थाको गरिमा बचाउँदै उपभोक्तालाई अझ गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट