चितवन : नेपालमा हाडजोर्नी तथा ट्रमा (गम्भीर चोटपटक) सम्बन्धी सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यका साथ ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ। हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा गठन गरिएको सोसाइटीमा अर्थोपेडिक उपचार, ट्रमा व्यवस्थापन तथा हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको सहभागिता रहेको छ। नवगठित संस्थाले देशभर ट्रमा सेवाको विकास, विशेषज्ञ जनशक्ति सुदृढीकरण तथा आधुनिक उपचार प्रविधिको विस्तारमा काम गर्ने जनाएको छ।
सोसाइटीको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, उपाध्यक्षमा डा. हेमन्तकुमार गुप्ता, महासचिवमा डा. विजयन्द्र अधिकारी, कोषाध्यक्षमा डा. आलोक पाण्डे, सहसचिवमा डा. पविन थापा तथा सहकोषाध्यक्षमा डा. सन्जित झा चयन भएका छन्। वरिष्ठ चिकित्सक प्रा.डा. रमेशप्रसाद सिंह सोसाइटीका संरक्षक रहेका छन्। अध्यक्ष डा. लामिछानेले काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लामा कार्यरत हाडजोर्नी तथा ट्रमा विशेषज्ञ चिकित्सकलाई पनि संस्थामा समेट्ने प्रयास गरिएको बताए। उनका अनुसार देशभर ट्रमा उपचारमा संलग्न चिकित्सकहरूको दक्षता अभिवृद्धि, समस्या पहिचान, नवीन प्रविधि तथा उपचार पद्धतिबारे ज्ञान आदानप्रदान गर्न सोसाइटीले महत्वपूर्ण भूमिका खेल्नेछ।
उनले ट्रमा सेन्टरहरूको विकास तथा विस्तार, जनचेतना अभिवृद्धि, अनुसन्धानमूलक गतिविधि, ट्रमा सर्जरीको गुणस्तर सुधार, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार तथा स्वास्थ्य नीति निर्माणमा सहयोग पुर्याउने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए। नेपालमा सडक दुर्घटना, कार्यस्थलमा हुने चोटपटक तथा विभिन्न विपद्का कारण गम्भीर चोटपटकका घटना बढ्दै गइरहेको सन्दर्भमा सोसाइटीले दक्ष जनशक्ति, आधुनिक सोच र प्रविधिको समन्वयमार्फत ट्रमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सोसाइटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशाला, गोष्ठी, तालिम तथा फेलोसिप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। साथै उत्कृष्ट ट्रमा सर्जनलाई सम्मान, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा ज्ञानमूलक कार्यक्रममार्फत सेवा विस्तार गरिने जनाएको छ। ट्रमा सोसाइटीका अनुसार हाल नेपालमा करिब ९०० जना हाडजोर्नी विशेषज्ञ चिकित्सक कार्यरत छन्। दुर्घटना, विपद् तथा अन्य कारणबाट गम्भीर चोटपटक भोग्ने बिरामीहरूको उपचारमा उनीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij