Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

निर्वाचित नभए पनि जनताका प्रतिनिधि हौँ : रास्वपा नेता गौतम

निर्वाचित नभए पनि जनताका प्रतिनिधि हौँ : रास्वपा नेता गौतम

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका नेता दीपक गौतमले आफूहरू निर्वाचित जनप्रतिनिधि नभए पनि जनताका समस्या समाधानका लागि स्थानीय सरकारको प्रतिनिधिको भूमिकामा रहेको बताएका छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँगको भेटमा यातायात व्यवसायीका समस्या उठाउँदै गौतमले केन्द्रमा रास्वपाको सरकार रहेकाले गाउँ–बस्तीका सर्वसाधारणले आफ्ना गुनासा र समस्याहरू लिएर पार्टीका कार्यकर्ताकहाँ आउने गरेको बताए। स्थानीय तहका निर्वाचित संरचना रहे पनि जनताले आफूहरूलाई सरकारको प्रतिनिधिका रूपमा हेर्ने गरेको उनको दाबी थियो। चार वर्षदेखि समाधान हुन नसकेको मिनिबस व्यवसायीको समस्यालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। आवश्यक परे केन्द्र सरकारका मन्त्री तथा सांसदमार्फत समेत सहजीकरण गर्न रास्वपा तयार रहेको उनको भनाइ थियो।

गौतमले जिल्लाको शान्ति सुरक्षा र प्रशासनिक नेतृत्व प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीभित्र पर्ने भएकाले जनताका समस्या लिएर प्रशासनसमक्ष पुग्नु स्वाभाविक भएको उल्लेख गरे। यता, रास्वपा नेताको धारणा सुनेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफू स्पष्ट रूपमा काम गर्ने व्यक्ति भएको प्रतिक्रिया दिए। उनले सबै निकायले आफ्नो जिम्मेवारीबाट पन्छिएर प्रशासनले मात्रै सबै समस्या समाधान गर्नुपर्ने अवस्था स्वीकार्य नहुने बताए।

अर्यालले विगतमा मन्त्रिपरिषद्सम्म पुगेर पनि समाधान हुन नसकेका विषयहरू प्रशासनमाथि थोपर्ने प्रवृत्ति उचित नभएको संकेत गर्दै नियमन, समन्वय र कार्यान्वयनका सवालमा सम्बन्धित सबै निकाय समान रूपमा जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे। रास्वपा नेताहरू र प्रमुख जिल्ला अधिकारीबीच भएको उक्त छलफलमा यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याका साथै समाधानका सम्भावित उपायबारे समेत कुराकानी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट