काठमाडौं : एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकले आयकर ऐन २०५८ अनुसार खाताबाट गरिएको करकट्टीको विवरण नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले ग्राहकलाई आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको हो ।
ग्राहकहरूले बैंकको प्यान अपडेट पोर्टल तथा NIC ASIA MoBank मोबाइल बैंकिङ एपमा रहेको “PAN Update” विकल्पमार्फत सहजै प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, देशभर रहेका बैंकका जुनसुकै शाखा कार्यालयमा पुगेर पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार निक्षेपकर्ताको ब्याजमा काटिएको करको विवरण E-TDS प्रणालीमा प्रविष्ट गर्न प्यान अनिवार्य रहेको छ । प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वतः सम्बन्धित प्यानमा समावेश हुने र आयकर प्रणालीले अनुसूची–१० मा विवरण मिलान गर्नेछ । यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ ।
बैंकले प्यान अद्यावधिक नगराएका कारण E-TDS मा ब्याजकर दाखिला नभए वा पछि कर समायोजन गर्नुपर्ने अवस्था आए त्यसको जिम्मेवारी बैंकले नलिने स्पष्ट गरेको छ ।
यसैगरी, ग्राहकलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरिएको छ । बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको My Profile मा रहेको Change Email विकल्प प्रयोग गरी ईमेल अद्यावधिक गर्न सकिने व्यवस्था रहेको छ । शाखा कार्यालयमार्फत पनि ईमेल अपडेट गर्न सकिने बैंकले जनाएको छ ।
यसअघि प्यान उपलब्ध गराउँदा पनि करकट्टीको विवरण समावेश नभएको वा ईमेल अद्यावधिक नभएको खण्डमा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमार्फत सेवा लिन बैंकले अनुरोध गरेको छ ।