चितवन : पर्यटकीय राजधानी पोखरा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र चितवनको भरतपुरले पर्यटनको माध्यमबाट एकअर्कासँग सहकार्य गर्नेगरि सम्झौता गरेका छन्। तीनवटा पर्यटकीय गन्तव्यलाई पर्यटन यात्रामा जोड्न सकेमा तीनवटै गन्तव्यमा पर्यटकको आउजाउ बढ्ने र त्यसबाट पर्यटन क्षेत्रले लाभ लिने सरोकारवालाको भनाई छ।
पोखरा–लुम्बिनी–भरतपुरलाई पर्यटनका दृष्टिकोणले सिल्भर ट्रयांगल नामले पहिचान दिने गरिएको छ। तीनवटै नगरबीच सहकार्य गर्नेगरि त्यहाँका स्थानीयतहले हालै समझदारी गरेका छन्। पोखरामा भएको कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन यात्रामा सहकार्य गर्नेगरि त्रिपक्षीय समझदारी भएको हो। १२ बुँदे समझदारीमा पर्यटकलाई एउटा सहरबाट अर्को सहर पुग्न सहज हुने गरी कनेक्टिभिटीमा जोड दिइएको छ।
तीनवटा नगरबीच पर्यटन प्रवर्द्धन, पर्यटन विकास, असल अभ्यास आदानप्रदान तथा पारस्परिक सहकार्य गर्न सिल्भर ट्रयाङगल सम्बन्धि सम्झौता गरिएको पर्यटन क्षेत्रको भनाई छ। त्रीपक्षीय सम्झौता गरेका स्थानीय तहले आफ्नो वार्षिक नीति, योजना तथा बजेटमा सिल्भर ट्रयाङगलको प्रवर्द्धन र विकासलाई समावेश गर्ने उल्लेख गरेका छन्। त्यस्तै सिल्भर ट्रयाङगल सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष आलोपालो प्रणालीमा तीनै स्थानीय तहले गर्नेछन्। हरेक वर्ष पालैपालो सिल्भर ट्रयाङगल पर्यटन मेला ९ट्राभल मार्ट० आयोजना गर्ने पनि सम्झौतमा उल्लेख छ।
त्यसैगरि आवश्यकता अनुसार नियमित रुपमा व्यावसाय–देखि–व्यवसाय ९बिटूबी० तथा सरकार–देखि–सरकार ९जीटूजी० बैठक तथा सहकार्य सञ्चालन गर्नेपनि सम्झौतामा उल्लेख छ। तीनैवटा पक्षको संयुक्त पहलमा सिल्भर त्रिकोणको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तार अभियान सञ्चालन गर्ने सम्झौतामा उल्लेख गरिएको छ।
प्रत्येक सहरले अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्य समेट्ने डिजिटल सूचना बोर्ड स्थापना गर्ने, तीनैवटा गन्तव्यलाई समेट्ने गरी एकीकृत पर्यटन प्याकेज विकास गर्ने, संयुक्त पर्यटन प्रचार सामग्री निर्माण तथा वितरण गर्ने, पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने पनि सम्झौतमा उल्लेख छ।
पर्यटन प्रवर्द्धन गर्ने क्रममा सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवर्द्धनका लागि तीनवटै पक्षले संयुक्त रुपमा स्थानीय, प्रदेश तथा संघ सरकार, नेपाल पर्यटन बोर्ड, विकासका साझेदार संस्था लगायतसँग आवश्यक समन्वय गर्ने, अन्तरप्रदेशीय कनेक्टिभिटीमा विशेष जोड दिने पनि सम्झौतामा उल्लेख गरिएको छ।
संघीय सरकारले यसअघि पनि यो पर्यटकीय रुटको विकासलाई प्राथमिकता दिएको थियो। त्यसपछि गण्डकी प्रदेश सरकारले पनि यही रुटको विकास गर्ने गरि प्राथमिकता दिने बताएको छ। व्यवासायीले लामो समयदेखि यो रुटमा व्यक्तिगत पहलमा पाहुना ल्याउने र लैजाने गर्दै आएपनि तीनवटा स्थानीय तहले संयुक्त रुपमा भने सहकार्यमा चाँसो दिएका थिएनन।
यो सम्झौताले पोखरा, भरतपुर र लुम्बिनीका पर्यटनलाई एउटै सर्किटमा जोडेर अन्तर्राष्ट्रियस्तरमा संयुक्त रुपमा बजारीकरण गर्ने बाटो खोलेको सरोकारवालाको भनाई छ। सम्झौतापछि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सिल्भर ट्रयांगलको साझेदारी नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम भएको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij