पोखरा : पोखरामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १८ अँधेरीकुनामा घरको जग खन्ने क्रममा बिहीबार ढिस्कोले पुरिएर मजदुरको मृत्यु भएको हो।
जग खन्ने क्रममा करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई जनाको माटोको ढिस्को खसेर पुरिएका थिए। माटोमा पुरिएर घाइते भएका पर्वतको महाशिला गाउँपालिका ६ फलामखानीका २९ वर्षीय विक्रम सुनारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो।
उनको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । सोही घटनामा गोरखाको पालुङटार नगरपालिका ७का ३७ वर्षीय राजु कुमाललाई पनि उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा साँझ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनापछि वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण पोखराबाट खटिएको टोली र स्थानीयको संयुक्त प्रयासमा माटो पन्छाएर दुवै जनाको उद्धार गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij