Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पाँचतारे स्तरमा स्तरोन्नति हुँदै सब्रिना होटल, ४७ करोडको आईपीओ पनि ल्याउने तयारी

पाँचतारे स्तरमा स्तरोन्नति हुँदै सब्रिना होटल, ४७ करोडको आईपीओ पनि ल्याउने तयारी

काठमाडौं : बुढानीलकण्ठस्थित सब्रिना होटल लिमिटेडले पाँचतारे होटलमा स्तरोन्नति हुने लक्ष्यसहित क्षमता विस्तारको काम अघि बढाएको छ। निर्माण सम्पन्न भएपछि होटलको क्षमता १०३ कोठा पुग्नेछ भने आधुनिक सुविधा सम्पन्न प्रिमियम होटलका रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

हाल ४८ कोठासहित सञ्चालनमा रहेको होटल सन् २०१८ मा स्थापना भई २०२० देखि व्यावसायिक सञ्चालनमा आएको थियो। तीन रोपनी क्षेत्रफलमा फैलिएको होटलले विस्तार योजनाका लागि एक अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ।

स्तरोन्नतिपछि होटलमा तीनवटा रेस्टुरेन्ट सञ्चालन हुनेछन्। त्यसमध्ये रुफटप रेस्टुरेन्ट काठमाडौंकै ठूला रुफटप रेस्टुरेन्टमध्ये एक हुने दाबी गरिएको छ। साथै स्वीमिङ पुल, हेल्थ क्लब, स्पा, जिम, क्यासिनो लगायतका आधुनिक सुविधा उपलब्ध गराइनेछ। होटलका कोठाहरूको औसत आकार ३० वर्गमिटर रहने बताइएको छ।

सब्रिना होटलले हालै विश्वप्रसिद्ध फ्रान्सेली होटल समूह Accor अन्तर्गतको ट्राइब (TRIBE) ब्रान्डसँग व्यवस्थापन सञ्चालन सम्झौता गरेको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न सम्झौतापछि सब्रिना होटल दक्षिण एसियामै ट्राइब ब्रान्डअन्तर्गत सञ्चालन हुने पहिलो होटल बन्ने भएको छ।

होटलका अध्यक्ष निराजन थापा ले अन्तर्राष्ट्रिय ब्रान्डसँगको सहकार्यले नेपालको आतिथ्य क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। आधुनिक डिजाइन, सामाजिक स्पेस र गुणस्तरीय सेवाका लागि परिचित ट्राइब ब्रान्डका हाल विश्वभर २७ होटल सञ्चालनमा रहेका छन्।

यसैबीच, सब्रिना होटलले निकट भविष्यमा ४७ करोड रुपैयाँ बराबरको ४७ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी पनि गरेको छ। कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ कायम गरिएको छ।

यद्यपि, विस्तार योजनासँगै होटलको वित्तीय अवस्था भने चुनौतीपूर्ण देखिएको छ। सार्वजनिक वित्तीय विवरणअनुसार होटल सञ्चालनमा आएको पछिल्ला चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको छ। गत आर्थिक वर्षमा सात करोड रुपैयाँ कारोबार गरेको होटलले २०२४ मा ६ करोड ५० लाख र २०२३ मा आठ करोड रुपैयाँको व्यापार गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय ब्रान्डसँगको सहकार्य, पाँचतारे स्तरोन्नति र आईपीओमार्फत पूँजी संकलनको योजनाले सब्रिना होटललाई नेपालको आतिथ्य उद्योगमा नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij