Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

असार १ देखि कक्षा–११ को पठनपाठन सुरु हुने

असार १ देखि कक्षा–११ को पठनपाठन सुरु हुने

काठमाडौं : सरकारले कक्षा–११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय शिक्षा महाशाखाले सरोकारवाला निकायसँगको छलफलपछि उक्त निर्णय गरेको हो। महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार असार १ गतेदेखि नियमित पठनपाठन सञ्चालन हुने भएकाले विद्यालय तथा कलेजहरूले त्यसअघि नै नयाँ भर्ना प्रक्रिया सुरु गर्नेछन्। यसबारे मन्त्रालयले सम्बन्धित निकायमा चाँडै परिपत्र जारी गर्ने तयारी गरेको जनाएको छ।

यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा वैशाखभित्रै सार्वजनिक गरेपछि कक्षा–११ को शैक्षिक सत्र पनि छिट्टै सुरु गर्ने निर्णय गरिएको हो। अघिल्लो शैक्षिक सत्रअन्तर्गत कक्षा–११ को वार्षिक परीक्षा यही जेठभित्र सम्पन्न हुने र त्यसपछि नयाँ शैक्षिक सत्र सञ्चालनमा आउने सहसचिव अधिकारीले जानकारी दिए।

यसैबीच निजी तथा सामुदायिक विद्यालय तथा कलेजहरूले कक्षा–११ र १२ को नयाँ भर्ना धमाधम खुलाउन थालेका छन्। काठमाडौंका विभिन्न कलेजहरूले सामाजिक सञ्जालमार्फत भर्ना खुला भएको सूचना जारी गरिसकेका छन् भने केही कलेजहरूले प्रवेश परीक्षा मिति समेत सार्वजनिक गरेका छन्। काठमाडौं महानगरपालिकाले पनि वैशाख ३० गतेदेखि छात्रवृत्ति कोटाअन्तर्गत कक्षा–११ र १२ का लागि अनलाइन आवेदन खुला गरिसकेको छ।

गत सोमबार प्रकाशित एसइई नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। गत वर्षको तुलनामा यसपटक उत्तीर्णदर ४.१७ प्रतिशतले बढेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यसअघि एसइईको नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरेकामा यस वर्ष सरकारले एक महिनाभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएपछि परीक्षा बोर्डले नयाँ निर्देशिका लागू गर्दै छिटो नतिजा सार्वजनिक गरेको हो। त्यसकै प्रभावस्वरूप यसपटक असार १ गतेदेखि नै कक्षा–११ को पठनपाठन सुरु हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट