चितवन : निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र चरम अभावका कारण साविककै दररेटमा काम गर्न नसकिने भन्दै निर्माण व्यवसायी संघ चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिँदै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
संघका अनुसार निर्माण सामग्री, ढुवानी खर्च तथा श्रमिक लागतमा भएको अस्वाभाविक वृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको छ। मूल्य समायोजनको माग गर्दै पटक–पटक ध्यानाकर्षण गराए पनि सरकारले सुनुवाइ नगरेको उनीहरूको आरोप छ। संघले मिति २०८३/०१/२२ गते पत्रकार सम्मेलनमार्फत पनि सरकारलाई अल्टिमेटम दिएको थियो। तर माग सम्बोधन नभएपछि बाध्य भएर आन्दोलन सुरु गरिएको अध्यक्ष दिनेशचन्द्र न्यौपानेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको संघका महासचिव पुष्कर अधिकारीले जानकारी दिए ।
ज्ञापनपत्रमा निर्माण उद्योगले देशको कुल गार्हस्थ उत्पादनमा करिब १३ प्रतिशत योगदान दिने र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको उल्लेख छ। त्यस्तै, मध्यपूर्वको युद्धपछि इन्धन र निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको उल्लेख गर्दै डिजेल र बिटुमिनको मूल्य दोब्बरभन्दा बढी पुगेको जनाइएको छ। यस अवधिमा करिब १० अर्ब रुपैयाँ बराबरको नोक्सानी भइसकेको व्यवसायीहरूको दाबी छ। व्यवसायीहरूले मूल्य समायोजन नभए देशभरका सबै निर्माण कार्य ठप्प हुने चेतावनी दिएका छन्। साथै, बैंक ग्यारेन्टी जफत गर्ने वा कालोसूचीमा राख्ने जस्ता कारबाही नगर्न पनि सरकारसँग आग्रह गरिएको छ। उनीहरूले समयमै मूल्य समायोजन, म्याद थप र क्षतिपूर्तिको व्यवस्था नभए निर्माण क्षेत्र पूर्ण रूपमा प्रभावित हुने चेतावनी दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij