काठमाडौं । सांसद खगेन्द्र सुनारले आफूविरुद्ध प्रहरी निगरानी बढाइएको दाबी गर्दै सीआईबी र ‘श्रीमती संघ’सँग सम्बन्धित भनिएको असुली प्रकरण चाँडै सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सांसद सुनारले आन्दोलन सुरु गरेको सात वर्षको अवधिमा आफू दर्जनौँ पटक प्रहरी हिरासतमा परेको बताएका छन् । धरपकड, घम्साघम्सी, मुद्दा तथा कुटपिटसमेत भोगेको उल्लेख गर्दै उनले आफूले न्यायका लागि निरन्तर संघर्ष गर्दै आएको बताएका छन् ।
आन्दोलनका क्रममा खिचिएका तस्बिर तथा भिडियोहरूलाई अपराधीकरण गरेर आफूविरुद्ध प्रचार गर्ने प्रयास भइरहेको उनको आरोप छ । बाउ–आमामाथि भएको अन्याय, भाइको हत्या र बहिनीमाथिको बलात्कारपछि न्यायको लडाइँमा आफू अघि बढेको उल्लेख गर्दै सुनारले आफ्नो आन्दोलनको शैली ठीक वा बेठीक भन्ने मूल्यांकन गर्ने जिम्मा अरूलाई नै छाडेको बताएका छन् ।
जनप्रतिनिधिका रूपमा देशलाई नजिकबाट हेर्दा आफूलाई निराशा लागेको भन्दै उनले देशको उत्पादन कमजोर रहेको, वैदेशिक ऋण बढिरहेको र सरकारी संरचना कमजोर अवस्थामा रहेको बताएका छन् । गरिब तथा श्रमिक नागरिकको मेहनत, निजी क्षेत्रको लगानी र रेमिट्यान्सको भरमा देश चलिरहेको उनको भनाइ छ ।
सुनारले देशमा ठूलो परिमाणमा बेरुजु रहेको र उपलब्ध स्रोतसाधन शक्तिमा रहेकाहरूले बाँडीचुँडी उपभोग गरिरहेको आरोपसमेत लगाएका छन् । यस्तो अवस्था देख्दादेख्दै आफू चुप लागेर बस्न नसक्ने उनको भनाइ छ ।
उनले आफूले प्रश्न उठाएकै कारण आफूलाई फसाउन वा मार्नेसम्मको प्रयास हुनसक्ने आशंका व्यक्त गरेका छन् । ‘अपमानको जिन्दगीभन्दा सम्मानको मृत्यु प्यारो छ’ भन्दै उनले आफूले थालेको अभियानबाट पछि नहट्ने बताएका छन् ।
सांसद सुनारले पछिल्लो समय आफूविरुद्ध प्रहरी निगरानी थप बढेको दाबी गरेका छन् । उनका अनुसार सीआईबीका पौडेल थरका एक प्रहरी निरीक्षकको नेतृत्वमा आफूलाई लक्षित गरेर टोली गठन गरिएको छ । छानबिन समितिको प्रतिवेदन आउनुअघि नै आफूलाई फसाउने वा समाप्त पार्ने उद्देश्यले काम भइरहेको उनको आरोप छ ।
उनले आफ्नो बैंकिङ विवरण, टेलिफोन कल डिटेल, ह्वाट्सएप र फेसबुकसँग सम्बन्धित विवरण माग गरिएको तथा आफू, आफ्नो परिवार र आफन्तको नाममा रहेको सम्पत्तिबारे समेत विवरण संकलन भइरहेको दाबी गरेका छन् ।
आफूविरुद्ध हुने छानबिनप्रति कुनै आपत्ति नरहेको बताउँदै सुनारले आफूले गरेका सबै पाप तथा अपराधको छानबिन गर्न चुनौती दिएका छन् । कुनै बदमासी प्रमाणित भए आफू एक मिनेट पनि पदमा नबस्ने उनको भनाइ छ ।
तर, प्रहरी तथा कर्मचारीबाट सर्वसाधारणमाथि हुने भनिएको अन्याय र ज्यादतीको पनि हिसाब हुनुपर्ने उनले बताएका छन् । सत्तारुढ दलका सांसदलाई नै फसाउन प्रहरी यसरी लाग्छ भने आम नागरिकको अवस्था के होला भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।
सुनारले प्रहरी र कर्मचारीको कार्यशैली सुधार नगरी सुशासन सम्भव नहुने बताएका छन् । साथै, सीआईबी र ‘श्रीमती संघ’सँग सम्बन्धित भनिएको असुली प्रकरणको थप विषय अध्ययन भइरहेको र त्यसको ‘फ्लोअप’ चाँडै सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij