Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

साना किसान कृषि सहकारी संस्था लि. दारेचोकको सेवा प्रवाह आफ्नै भवनबाट सुरु

साना किसान कृषि सहकारी संस्था लि. दारेचोकको सेवा प्रवाह आफ्नै भवनबाट सुरु

कुरिनटार : साना किसान कृषि सहकारी संस्था लि. दारेचोकले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ। चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा निर्माण गरिएको भवनको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो।

भवन उद्घाटन गर्दै अध्यक्ष गुरुङले किसानहरूले प्रत्यक्ष लाभ लिने भएकाले गाउँपालिकाले भवन निर्माणका लागि सहयोग गरेको बताउनुभयो। सहकारीका सञ्चालक समिति तथा कर्मचारीहरूको कामको प्रशंसा गर्दै उहाँले हजारौँ किसानको हितका लागि सहकारीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहकारीकी अध्यक्ष तुलाषा थापाले नयाँ भवनसँगै सेवा प्रवाह अझ प्रभावकारी हुने बताउनुभयो। उहाँले आगामी दिनमा किसानहरूको उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार, महिला सशक्तीकरण, युवा रोजगारी तथा आत्मनिर्भर गाउँ निर्माणतर्फ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भवन निर्माणका लागि हालसम्म एक करोड १२ लाख ३७ हजार ४९६ रुपैयाँ खर्च भएको सहकारीका मुख्य प्रबन्धक रामजी नेपालले जानकारी दिनुभयो। सहकारीको एक करोड ७१ लाख रुपैयाँ शेयर पुँजी रहेको छ। सदस्यहरूबाट १८ करोड ५० लाख रुपैयाँ बचत संकलन भएको तथा २० करोड १५ लाख रुपैयाँ लगानी गरिएको छ।

वडा नम्बर ३, ४ र ५ कार्यक्षेत्र रहेको यस सहकारीमा एक हजार ११५ जना शेयर सदस्य रहेका छन् भने १७९ वटा समूह आबद्ध छन्। सहकारीले तीनवटै वडामा सुपथ मूल्यमा मल तथा बीउबिजन बिक्री केन्द्रसमेत सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष तथा सहकारीका पूर्वअध्यक्ष नरबहादुर नेपाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती तथा वडा नम्बर ५ का वडाध्यक्ष तेजबहादुर शेरचनलगायतले मन्तव्य राख्नुभएको थियो। सहकारीका पूर्वअध्यक्ष बलराम त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम मुख्य प्रबन्धक रामजी नेपालले सञ्चालन गर्नुभएको थियो।

यसअघि भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएको सहकारीले आफ्नै भवन निर्माणसँगै आर्थिक बचत हुनुका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट