Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

निजी उद्यम र सुशासनमा सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

निजी उद्यम र सुशासनमा सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा निजी उद्यमशीलताको विकास र सुशासन कायम गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । बाह्रखरी मिडियाले काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार आयोजना गरेको ‘एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिता तथा ‘इकोनोमिक सिम्पोजियममा उनले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा वर्तमान मन्त्रिपरिषद्ले उच्च स्तरको इमानदारी र सुशासनको मापदण्ड कायम गरेको दाबी गरे । 

अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत नेपाललाई उदार अर्थतन्त्रको दिशामा लैजाने र लगानीमैत्री वातावरण सिर्जना गर्ने विश्वास दिलाएका छन् ।

“हामी निजी क्षेत्रमैत्री नीतिहरू ल्याउँदैछौँ, जसले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्नेछ,” उनले भने । उनका अनुसार सरकारले निजी सम्पत्तिको सुरक्षा, सम्झौताहरूको कार्यान्वयन र करको भारलाई कम गर्ने गरी नीतिगत सुधार गर्नेछ । 


देशमा भइरहेको नीतिगत कब्जा र संस्थागत भ्रष्टाचारप्रति कडा टिप्पणी गर्दै मन्त्री वाग्लेले विगतका गल्तीहरूलाई अब माफी नदिइने स्पष्ट पारे । उनले राज्यको स्रोतमाथिको लुट र अपराधीकरण अन्त्य हुनै पर्नेमा जोड दिए । 

यद्यपि, विगतका खराब शासन व्यवस्थाका कारण बाध्य भएर भ्रष्टाचारको जालोमा फसेका व्यवसायीहरूलाई संक्रमणकालीन अवधिमा केही लचकता अपनाइने संकेत समेत उनले दिए ।

अर्थमन्त्रीले निर्वाचनका बेला जनतासामु गरिएका बाचा र घोषणापत्रलाई धुलो टक्टक्याएर पुनः अध्ययन गर्न थालिएको बताए । 

सरकारले पाँचखम्बे प्राथमिकतामा केन्द्रित भएर काम गरिरहेको र त्यसमा सुशासन (म्याक्रो र माइक्रो दुवै तहमा) प्रमुख रहेको उनको भनाइ छ । म्याक्रो तहमा नीतिगत मिलेमतो अन्त्य गर्ने र माइक्रो तहमा डिजिटलाइजेसनमार्फत नागरिकलाई सहज सेवा दिने लक्ष्य राखिएको उनको भनाइ छ ।

सरकारले फेसलेस (अनुहार देखाउन नपर्ने) र पेपरलेस (कागजविहीन) सेवा प्रवाहलाई प्राथमिकता दिएको उजले बताए । अर्थमन्त्री वाग्लेले सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएकोतर्फ ध्यानाकर्षण गरे । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट