Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जर्जियामा फैलिएको जंगली डढेलो नियन्त्रणबाहिर

जर्जियामा फैलिएको जंगली डढेलो नियन्त्रणबाहिर

वासिङ्न डीसी : अमेरिकाको जर्जिया राज्यमा फैलिएको दुई ठुला जंगली आगलागी अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले बताएका छन् ।

केही दिनको वर्षाले नियन्त्रण प्रयासलाई सहयोग गरे पनि आगलागीको खतरा अझै उच्च रहेको चेतावनी दिइएको छ । राज्यका गभर्नर ब्रायन केम्पले प्रभावित क्षेत्रको निरीक्षणपछि भने, 'थोरै वर्षाले सहयोग गर्छ तर यो समस्या अन्त्य गर्ने छैन । हामी अझै लामो समय यससँग जुध्नुपर्नेछ ।' 

सबैभन्दा ठुलो आगलागीले ब्रान्टली काउन्टीमा करिब ३५ वर्ग माइल क्षेत्र जलाइसकेको र ८० भन्दा बढी घरहरू नष्ट भएका छन् । यो आगो अहिले करिब ३२ प्रतिशत मात्र नियन्त्रणमा आएको छ । यद्यपि, जोखिम कायम रहेको बताइएको छ । जर्जिया वन आयोगका अधिकारीहरूका अनुसार वर्षाले आगोको तीव्रता केही घटाए पनि बाँकी धुवाँ र तातो भाग अझै सक्रिय छन् । नियन्त्रण रेखा विस्तार गरेर आगो रोक्ने प्रयास भइरहेको जनाइएको छ । 

अर्काे ठुलो आगलागी क्लिन्च काउन्टी र इकोल्स काउन्टी क्षेत्रमा फैलिएको छ, जसले जर्जिया–फ्लोरिडा सीमा नजिक ५० वर्ग माइलभन्दा बढी क्षेत्र जलेको छ । यो आगो करिब २३ प्रतिशत नियन्त्रणमा रहेको बताइएको छ ।

अधिकारीहरूका अनुसार केही घरहरू र दर्जनौँ साना संरचनाहरू नष्ट भएका छन् । आगलागीमा परेर जर्जियामा घाइते वा मृत्युको खबर आएको छैन । गत हप्ता फ्लोरिडामा भने वन डढेलो निभाउने क्रममा एक जना अग्नि नियन्त्रकको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij