भरतपुर : भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यमा ढिलाइ भएको छ। ठेक्का म्याद सकिन आठ महिना बाँकी रहँदा परियोजनाको करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ।
विसं २०८१ असारमा ३० महिनाभित्र काम सक्नेगरी भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार आयोजना २०८३ पुस २२ भित्र सम्पन्न हुनुपर्नेछ।
महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल एउटा टावरको काम लगभग पूरा भएको छ भने अर्को टावरको दोस्रो तलासम्म ढलान भइसकेको छ। चारमध्ये एक प्यारापिट निर्माण सम्पन्न भएको छ भने दुईवटाको ढलान सकिएको र बाँकीको काम सुरु भएको छ।
मैदान निर्माण कार्य पनि अघि बढिरहेको छ। पाँच वटा पिच निर्माणको तयारी भइरहेको छ। साथै मैदानसम्म पुग्ने बाटो, पिच निर्माण, भूमिगत पावर केबल र प्लम्बिङका काम पनि समानान्तर रूपमा भइरहेको छ।
आयोजनामा बागमती प्रदेश सरकारले ७० प्रतिशत खर्च बेहोर्ने जनाएको छ। संघीय सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि २५ करोड रुपैयाँ र महानगरपालिकाले ४ करोड ८० लाख रुपैयाँ विनियोजन गरेका छन्। चालु आर्थिक वर्षमा महानगरले थप ४ करोड रुपैयाँ छुट्याएको छ।
महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निरन्तर ताकेता गरिरहेको बताए। उनले संघ र प्रदेश सरकारसँग आवश्यक बजेटको समन्वय भइरहेको पनि जानकारी दिए।
यसअघि धुर्मस–सुन्तली फाउन्डेसनले निर्माण थालेको उक्त रंगशाला पूरा गर्न नसकेपछि महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। त्यसपछि संघ र प्रदेश सरकारको सहकार्यमा पुनः निर्माण अघि बढाइएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij