Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बीमा र विपन्नको ४१ करोडभन्दा बढी भुक्तानी रोकिँदा वीपी क्यान्सर अस्पताल आर्थिक संकटमा

बीमा र विपन्नको ४१ करोडभन्दा बढी भुक्तानी रोकिँदा वीपी क्यान्सर अस्पताल आर्थिक संकटमा

चितवन : स्वास्थ्य बीमा र विपन्न उपचारबापतको करिब ४१ करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाउँदा भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक संकटमा परेको छ। अस्पतालका अनुसार स्वास्थ्य बीमा बोर्डबाट मात्रै २५ करोड ८८ लाख रुपैयाँ, संघीय सरकारको विपन्न उपचार शीर्षकमा १२ करोड ६७ लाख रुपैयाँ तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशबाट गरी करिब १ करोड ७६ लाख रुपैयाँभन्दा बढी भुक्तानी बाँकी छ।

अस्पतालका कार्यकारी निर्देशकका अनुसार कुल ४१ करोड ३७ लाख ५० हजार रुपैयाँ भुक्तानी नआउँदा दैनिक सञ्चालनमा कठिनाइ भएको छ। साथै अस्पतालले तिर्नुपर्ने दायित्व पनि बढ्दै गएको छ।

अस्पतालका अनुसार तलब–भत्ता, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा नियमित मर्मतसम्भारका लागि करिब १९ करोड १७ लाख रुपैयाँ भुक्तानी बाँकी छ। औषधि खरिदको ९ करोड ७७ लाख रुपैयाँसमेत तिर्न बाँकी रहेको अस्पतालले जनाएको छ। चालु आर्थिक वर्षमा अवकाश भएका १८ कर्मचारीको ४ करोड ५७ लाख रुपैयाँ उपदानसमेत बजेट अभावका कारण दिन नसकिएको छ।

अस्पतालले सेवा विस्तार गर्दै क्याबिन बाहेकका सबै शैया निःशुल्क गरेको, साथै बिरामीलाई तीन छाक खाना समेत निःशुल्क उपलब्ध गराउँदै आएको छ। तर सेवा विस्तारसँगै खर्च बढ्दा आर्थिक दबाब थपिएको अस्पताल प्रशासनको भनाइ छ।

हाल अस्पतालको खातामा करिब ८ करोड २८ लाख रुपैयाँ मात्र मौज्दात छ, जुन रकमले तलब तथा कोष भुक्तानी गर्दा नै सकिने अवस्था रहेको बताइएको छ। अस्पतालमा मासिक करिब ५ करोड रुपैयाँ तलब खर्च हुने गरेको छ भने ९५ चिकित्सकसहित ७१३ कर्मचारी कार्यरत छन्। चालु आर्थिक वर्षमा सरकारले करिब २४ करोड १७ लाख रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेको भए पनि बाँकी खर्च आन्तरिक आम्दानीबाट व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ।

पछिल्ला वर्षहरूमा अस्पतालको आम्दानी र सेवा दुवै बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा ५८ करोड र २०८१/८२ मा ७४ करोड ९६ लाख रुपैयाँ आम्दानी भएको अस्पतालले जनाएको छ।

बिरामीको संख्या पनि निरन्तर बढ्दै गएको छ। गत वर्ष मात्रै २ लाख ९ हजारभन्दा बढी बिरामीले सेवा लिएका थिए। शल्यक्रिया, सिटी स्क्यान र अन्य सेवा उपयोग पनि उल्लेख्य रूपमा वृद्धि भएको अस्पतालको तथ्यांकमा उल्लेख छ।

अस्पताल प्रशासनले समयमै सरकारी भुक्तानी नआएमा सेवा सञ्चालनमै थप समस्या आउन सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट