रत्ननगर : रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन शनिबारबाट सुरू भएको छ । संस्थाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा भएको कार्यक्रम रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । संस्थाको अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
रत्ननगर खानेपानीले १५ हजार ३०० घरधुरीमा खानेपानी वितरण गर्दै आएको छ । पार्षद् सदस्यहरुबाट नयाँ नेतृत्व चयन गर्ने परम्पराको अन्त्य गर्दै संस्थाले यसपटकबाट सबै उपभोक्ताको मतदानबाट नेतृत्व चयन गर्नेछ । १५ हजार ३०० उपभोक्तामध्ये १३ हजार ५२४ मतदाताले मात्र मताधिकार प्रयोग गर्न पाउने छन् । संस्थाले तोकेको समयसीमा (यही चैत १५ गतेसम्म) मा खानेपानीको महसुल नतिरेका एक हजार ७७६ उपभोक्ताले मतदान गर्न पाउने छैनन् ।
रत्ननगरका १३ वटा वडामा खानेपानी वितरण गर्दै आएको यस संस्थाले पानी बेचेरै वर्षमा झन्डै दुई करोड मुनाफा गरेको छ । चालू आर्थिक वर्षको चैत १५ गतेसम्म १ करोड ९८ लाख ६७ हजार रूपैयाँ मुनाफा भएको संस्थाकी कोषाध्यक्ष सरस्वती लामाले बताइन् । ४ करोड २२ लाख ३५ हजार आम्दानी गरेकोमा २ करोड २३ लाख ६८ हजार खर्च कटाएर १ करोड ९८ लाख ६७ हजार रूपैयाँ मुनाफा भएको उनको भनाइ छ ।
संस्थाले आर्थिक वर्ष २०८१÷०८२ मा एक करोड ७१ लाख ४८ हजार मुनाफा गरेको छ । खानेपानीको महसुलबाटै ६ करोड ४१ लाख ९७ हजार आम्दानी गरेको संस्थाले ४ करोड ७० लाख ४९ हजार खर्च कटाएर एक करोड ७१ लाख ४८ हजार रूपैयाँ मुनाफा गर्न सफल भएको कोषाध्यक्ष लामाले जानकारी दिइन् ।
साधारण सभामा राजनीतिक दलका नगरस्तरीय प्रमुखहरुले खानेपानीको न्यूनतम महसुल छूट गर्न माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रामनाथ भट्टराई, नेकपा एमालेका नगर अध्यक्ष ईश्वरीप्रसाद अर्याल, नेपाली कम्युनिस्ट पार्टीका नगर अध्यक्ष मेघनाथ पौडेल, राप्रपाका निवर्तमान नगर अध्यक्ष गोविन्द अधिकारीले खानेपानीको न्यूनतम महसुल छूट गर्न माग गर्दै आम्दानी भएको रकम संस्थागत विकास, पानीको स्रोत संरक्षण र सरसफाइमा लगानी गर्न आग्रह गरेका छन् ।
संस्थाका अध्यक्ष अर्यालले सेवा क्षेत्रभित्रका सबै उपभोक्ताहरुलाई खानेपानीको पहुँचमा ल्याउन एकपछिअर्को छूटका कार्यक्रम सञ्चालन गरिएको बताए । न्यूनतम महसुल घटाएर रातो कार्डधारी अपाङ्गता भएकालाई धारा जडान निःशुल्क, सामुदायिक विद्यालयलाई ५० प्रतिशत छूट र किस्ताबन्दीमा धारा जोड्ने व्यवस्था गरिएको उनले बताए । पानीको स्रोत संरक्षणका लागि घर–घरमा पोखरी निर्माण र आगामी २५ वर्षसम्म खानेपानीको अभाव हुन नदिन ३६ करोडको सहलगानी आयोजना सञ्चालन भइरहेको अर्यालको भनाइ छ ।
रत्ननगरका मेयर सापकोटाले न्यूनतम शुल्क तिरेर खानेपानी उपयोग गर्ने व्यवस्था स्थानीय सरकारले गरिरहेको बताए । खानेपानी तथा उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी संस्थामा २५ प्रतिशत कर लगाउने सरकारी निर्णय गलत भएको बताए । कार्यक्रममा बकुलहर रत्ननगर अस्पताल, पत्रकार विपीन शर्मा आचार्य, वडा नं–२ का वडा संयोजक भरतमणि आचार्य, उत्कृष्ट उपभोक्ताहरु भूमिराज श्रेष्ठ, परशुराम सुवेदी तथा उत्कृष्ट कर्मचारीका रुपमा लोकनाथ घिमिरे र खोमबहादुर श्रेष्ठलाई सम्मान गरिएको संस्थाका सचिव प्रताप डल्लाकोटीले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सचिव डल्लाकोटीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष लामाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक जीवनलाल नगरकोटीले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । वडाध्यक्ष कुलप्रसाद सापकोटा, पिठुवा खानेपानीका अध्यक्ष हरिकुमार श्रेष्ठ, रत्ननगर खानेपानीका निवर्तमान अध्यक्ष भीष्मराज पौडेल, उपभोक्ताको तर्फबाट निर्मला खड्का र रघुनाथ भट्टले कार्यक्रममा मन्तव्य राखेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij