Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रत्ननगरका सामुदायिक विद्यालयको कमजोर नतिजा, ६८२ मध्ये ४२३ विद्यार्थी कक्षा ९ का लागि अयोग्य

रत्ननगरका सामुदायिक विद्यालयको कमजोर नतिजा, ६८२ मध्ये ४२३ विद्यार्थी कक्षा ९ का लागि अयोग्य

चितवन : रत्ननगर नगरपालिका मा सामुदायिक विद्यालयहरूको कक्षा ८ को नतिजाले स्थानीय शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

नगरपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी ६८२ विद्यार्थीमध्ये ४२३ जना कक्षा ९ मा अध्ययन गर्न अयोग्य भएका छन्। यससँगै समग्र उत्तीर्ण प्रतिशत जम्मा ३७.९८ मा झरेको छ, जुन आधारभूत शिक्षा तहकै लागि अत्यन्तै चिन्ताजनक मानिएको छ।

नतिजाको विश्लेषण गर्दा १९ मध्ये १६ विद्यालयको नतिजा ५० प्रतिशतभन्दा तल रहेको देखिएको छ। बैरिया माध्यमिक विद्यालय (६४.४९%) र आधारभूत विद्यालय बेलसी (६४.२९%) ले केही राम्रो प्रदर्शन गरे पनि अन्य विद्यालयको अवस्था कमजोर देखिएको छ। जनजागृति माध्यमिक विद्यालय ५१.३५ प्रतिशतमा सीमित हुँदा बाँकी सबै विद्यालय ५० प्रतिशत कटाउन असफल भएका छन्।

सबैभन्दा कमजोर नतिजा भद्रकाली माध्यमिक विद्यालय र आधारभूत विद्यालय देवौलीको देखिएको छ। भद्रकाली माविमा ३२ विद्यार्थीमध्ये मात्र ३ जना (९.३८%) ग्रेडेड भएका छन् भने २९ जना ननग्रेडेड भएका छन्। त्यसैगरी देवौलीमा १६ विद्यार्थीमध्ये १ जना (६.२५%) मात्र उत्तीर्ण हुँदा १५ जना असफल भएका छन्।

यसका साथै, ७ वटा विद्यालयको नतिजा ३० प्रतिशतभन्दा कम रहेको छ। आधारभूत तहमै यति ठूलो संख्यामा विद्यार्थी ननग्रेडेड हुनुले सिकाइ प्रणालीमै गम्भीर कमजोरी रहेको संकेत गरेको छ।

शिक्षाविद्हरूका अनुसार यस्तो अवस्था केवल विद्यार्थीको कमजोरी मात्र नभई शिक्षक व्यवस्थापन, विद्यालय नेतृत्व, स्थानीय तहको अनुगमन तथा अभिभावकको सहभागितामा समेत कमी रहेको देखिन्छ। कतिपय विद्यालयमा शिक्षक अभाव, विषयगत दक्षताको कमी तथा नियमित निगरानीको अभाव पनि समस्या बनेको छ।

नगरपालिकाले शिक्षा क्षेत्रमा वार्षिक रूपमा उल्लेख्य बजेट विनियोजन गर्दै आए पनि अपेक्षित नतिजा आउन नसक्नुले लगानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ। “शिक्षामा गरिएको लगानी बालुवामा पानी जस्तै भइरहेको छ” भन्ने आलोचना अहिले बलियो बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट