Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

खैरहनीमा बर्खे धानको उन्नत बीउमा ५०% अनुदान, वैशाख ७ भित्र निवेदन दिन आह्वान

खैरहनीमा बर्खे धानको उन्नत बीउमा ५०% अनुदान, वैशाख ७ भित्र निवेदन दिन आह्वान

चितवन : खैरहनी नगरपालिका ले नगरभित्रका किसानलाई लक्षित गर्दै बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम सञ्चालन गर्ने भएको छ। चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बाली प्रवर्द्धनका लागि किसानलाई धानको बीउमा अनुदान दिन लागिएको हो।

नगरपालिकाकी कृषि अधिकृत सृजना श्रेष्ठ का अनुसार अनुदान प्राप्त गर्न इच्छुक किसान तथा कृषि उद्यमीलाई आगामी वैशाख ७ गतेभित्र निवेदन दिन आह्वान गरिएको छ। मोटो र मसिनो गरी विभिन्न सात जातका धानको बीउमा अनुदान उपलब्ध गराइने जनाइएको छ।

अनुदानमा उपलब्ध हुने धानका जातहरूमा सुक्खा धान–२, सावित्री, हर्दिनाथ–५, हर्दिनाथ–६, सावा मन्सुली सब–१, रामधान र चैते–५ रहेका छन्। उक्त कार्यक्रम सङ्घीय सरकारको बजेटमार्फत सञ्चालन हुन लागेको हो।

नगरपालिकाले प्रतिकठ्ठा दुई किलोका दरले एक जना किसानलाई अधिकतम १०० किलोसम्म बीउ उपलब्ध गराउने नीति लिएको छ। अनुदान लिन चाहने किसानले नागरिकताको प्रतिलिपि र चालु आर्थिक वर्ष २०८२/८३ को एकीकृत सम्पत्ति कर तिरेको रसिदसहित स्वयं कृषि शाखामा उपस्थित भई निवेदन दिनुपर्नेछ।

जग्गा भाडामा लिएर खेती गर्ने किसानका हकमा जग्गाबहाल सम्झौता, बहाल कर तिरेको रसिद तथा जग्गाधनीको नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको कृषि शाखाले जनाएको छ।

यसअघि नगरपालिकाले चैते धानको बीउमा पनि ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो। हाल पालिकामा चैते धान २,०५१ हेक्टर क्षेत्रफलमा लगाइन्छ भने बर्खे धान ३,५५८ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ।

धानको बीउ अनुदान कार्यक्रमका लागि रु १० लाख ७५ हजार बजेट विनियोजन गरिएको छ। नगरपालिकाले कृषि चुन, मललगायत सामग्रीमा समेत किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ।

कृषिमा आत्मनिर्भरता बढाउने तथा उन्नत बीउको प्रयोगमार्फत उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको कृषि अधिकृत श्रेष्ठले जानकारी दिइन्।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट