Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अर्थमन्त्री वाग्लेको निर्देशन: संवादमार्फत राजस्व संकलन बढाउन आग्रह

अर्थमन्त्री वाग्लेको निर्देशन: संवादमार्फत राजस्व संकलन बढाउन आग्रह

पर्सा : अर्थमन्त्री स्वर्णिम वाग्लेले वीरगन्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको लक्ष्यभन्दा बढी उपलब्धि हासिल गर्न निर्देशन दिएका छन्।

शुक्रबार वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री वाग्लेले लक्ष्यअनुसार राजस्व उठाउन दबाब पर्ने भए पनि उद्योगी–व्यवसायीलाई धरपकड वा छापा मारेर नभई संवाद र सहकार्यका माध्यमबाट कर संकलन गर्नुपर्नेमा जोड दिए।

उनले उद्योगी–व्यवसायीलाई अनावश्यक रूपमा तर्साउने वा हतोत्साहित गर्ने कार्यले दीर्घकालीन रूपमा अर्थतन्त्रमा नकारात्मक असर पार्ने भन्दै यस्तो प्रवृत्तिबाट टाढा रहन कर्मचारीहरूलाई निर्देशन दिए।

“लक्ष्यअनुसार राजस्व उठाउन दबाब पर्छ, तर त्यसको नाममा उद्योगी–व्यवसायीलाई समस्या हुने गरी काम गर्नु हुँदैन,” उनले भने, “फकाई–फकाई, संवादमार्फत नै राजस्व संकलनलाई प्रभावकारी बनाउनुपर्छ।”

मन्त्री वाग्लेले घुस लेनदेनसम्बन्धी गुनासोहरूलाई गम्भीर रूपमा लिएर अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र गलत काम गर्नेलाई हतोत्साहित गर्ने नीति कडाइका साथ लागू गरिने पनि स्पष्ट पारे।

त्यस्तै, उनले बजार अनुगमनलाई आवश्यक भए पनि त्यसको दुरुपयोग हुन नदिन सचेत रहन निर्देशन दिए। उनले भ्रष्टाचारविरुद्ध सरकार निर्मम रूपमा अघि बढ्ने र कानुनको पूर्ण कार्यान्वयन गरिने बताए।

“अब सेवा प्रवाहमा नयाँ अनुभव दिनुपर्ने समय आएको छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट