Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा ‘युवा महिला उद्यमी शिखर सम्मेलन–२०२६’

चितवनमा ‘युवा महिला उद्यमी शिखर सम्मेलन–२०२६’

चितवन : महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘युवा महिला उद्यमी शिखर सम्मेलन–२०२६’ आयोजना हुने भएको छ। नेपाली युवा उद्यमी मञ्चको आयोजनामा शनिबार भरतपुरस्थित सिराईचुली होटलमा सम्मेलन हुन लागेको जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

कार्यक्रम संयोजक सन्धा कंडेलका अनुसार महिलालाई उद्यमतर्फ आकर्षित गर्न तथा महिला उद्यमी, व्यवसायीक महिला, विद्यार्थी र भावी उद्यमीलाई एउटै मञ्चमा जोड्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको हो। उनले कार्यक्रममा सहभागिता जनाउन सम्बन्धित सबैलाई आग्रह गरिन्।

शनिबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न विषयमा प्यानल छलफलसमेत हुनेछ। छलफलमा प्रार्थना साखा, निकिता जलान, सिता अधिकारी र सञ्जीता घिमिरेलगायतले सहभागिता जनाउनेछन् भने प्रमुख वक्ताका रूपमा प्राध्यापक डा. शारदा थपलिया रहनेछिन्।

‘इनपावर इलिभेट’ नारासहित आयोजना हुने सम्मेलनमा करिब ४ सय जनाको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति एक हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको आयोजकले जनाएको छ। चितवनमा पहिलोपटक आयोजना हुन लागेको यस सम्मेलनमा चितवन तथा आसपासका महिला उद्यमीलाई खुला निमन्त्रणा दिइएको छ। कार्यक्रमका लागि शैक्षिक संस्था, बैंकिङ तथा वित्तीय संस्था र सरकारी निकायहरूसँग सहकार्य गरिएको जनाइएको छ।

नेपालमा महिलाको जनसंख्या पुरुषभन्दा बढी भए पनि औपचारिक कर्जामा उनीहरूको पहुँच अझै सीमित रहेको उल्लेख गर्दै आयोजकले ज्ञान, सञ्जाल र प्रेरणामार्फत उक्त खाडल घटाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट