चितवन : यही चैतको तेस्रो सातादेखि जिल्लाका सातै पालिकामा ‘पिपिआर’ (PPR) विरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ। अभियान अन्तर्गत करिब दुई लाख ५० हजार बाख्रालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ। जिल्लामा हाल करिब तीन लाख बाख्रा पालन भइरहेको जनाइएको छ।
पशुसेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपाने का अनुसार ‘पिपिआर’ रोग ‘मोरडिली’ भाइरस का कारण लाग्ने गर्दछ। उहाँका अनुसार यो रोग लागेपछि ५० देखि ९० प्रतिशतसम्म बाख्रा मर्ने जोखिम रहने गर्दछ।
यो रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक–आँखाबाट सिँगान बग्ने, निमोनिया जस्तो हुने, श्वास फेर्न गाह्रो हुने, खान मन नलाग्ने तथा कमजोर हुँदै छिट्टै मर्ने जस्ता लक्षण देखिने उनले बताउनुभयो।
डा. न्यौपानेका अनुसार रोगका लक्षण तीनदेखि पाँच दिनभित्र देखिन सुरु हुने र सातदेखि १० दिनभित्र बाख्रा मर्न सक्ने सम्भावना रहन्छ। कार्यालयले हरेक वर्ष बाख्रामा यो रोगविरुद्ध खोप दिँदै आएको जनाएको छ। यो रोग रोगी बाख्राको नाक र आँखाबाट निस्कने सिँगान तथा आँशु, खोक्दा वा हाच्छ्युँ गर्दा हावामा फैलिने कण, दूषित पानी, दाना र सोत्तर मार्फत सजिलै फैलिने गर्दछ।
व्यवसायिक बाख्रापालन गर्ने किसानलाई जैविक सुरक्षाका उपाय अपनाउन डा. न्यौपानेले सुझाव दिनुभएको छ। रोगको संक्रमण फैलिन नदिन रोगी बाख्रालाई तुरुन्तै बथानबाट अलग राख्न र रोगबाट मरेका पशुलाई गाड्ने वा जलाउने गर्नुपर्ने उहाँले बताउनुभयो।
यस रोगबाट बच्न तीन महिना उमेर पुगेका सम्पूर्ण स्वस्थ भेडा–बाख्रालाई प्रत्येक दुई वर्षमा अनिवार्य खोप लगाउनुपर्ने बताइएको छ। साथै, गोठमा नयाँ बाख्रा ल्याउँदा खोप लगाएर मात्र ल्याउने र कम्तीमा तीन हप्तासम्म अलग राखेर मात्र बथानमा मिसाउने आग्रह गरिएको छ। (रासस)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij